भ्रष्टाचारको अनुसन्धानमा हदम्याद स्वीकार्य नहुने भन्दै युवाहरूले घेरे बालुवाटार

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद स्वीकार्य नहुने भन्दै युवाहरूले घेरे बालुवाटार

काठमाडौं : भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरूले बालुवाटार घेराउ गरेका छन्। 

शनिबार भ्रष्टाचारमा हदम्यादको कुरा स्वीकार्य नहुनेलगायत विभिन्न मागहरु राख्दै युवाहरूको समूहले बालुवाटारमा आन्दोलन गरे। 

सोही क्रममा नागरिक पहिलो अभियान केन्द्रीय जनपरिचालन कार्यदलको संयोजक मिलन कान्छा किरातीले देशमा वैधानिक रुपमा लुट मच्चाइरहेको भन्दै बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई चेतावनीको रुपमा पनि घेराउ गरेको बताए। 

उनले भने, ‘अहिले देशमा वैधानिक रुपमा लुट मच्चाइएको छ। यो नागरिकले सहन सक्दैन। देशको विकास गर्ने हो भने भ्रष्टाचारलाई पहिलो नम्बरमा सकाउनु पर्छ र संविधानको लागि काम गर्नुपर्छ। बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई एउटा चेतावनीको रुपमा पनि घेराउ हो।’ 

उनले देशको समृद्धि र विकासको लागि सबैभन्दा पहिला भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्ने भन्दै भ्रष्टाचारलाई पनि हदम्याद राखेर वैधानिक बनाउने कुरा स्वीकार्य नभएको बताए। 

उनले भने, ‘मुठिभरका शासक र दलहरूले देशका युवाहरूलाई र जनताको अधिकारलाई खोस्नु भएको छ। खोसिएको अधिकार र देशको समृद्धि एवं विकासका लागि पहिले भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्छ। भ्रष्टाचारलाई हदम्याद राखेर वैधानिक बनाउने कोशिश भएको छ। पाँच वर्षको हदम्याद कुनै पनि हिसाबले लागू हुनुहुँदैन’ 

उनीहरुले गिरीबन्धु टी स्टेट, भुटानी शरणार्थी, ललिता निवास लगायतका अनियमितताको काण्डमा अनुसन्धान गर्न तथा वित्तीय क्षेत्र, बैंक सहकारी, लघुवित्त, मिटरव्याजी पीडितहरूका समस्या तुरुन्त सम्बोधन गर्न माग गरेका छन्। 

भदौ ७, २०८१ शनिबार १६:५०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।