रुसका ९२ गाउँ युक्रेनले कब्जा गरेपछि राष्ट्रपति पुटिनको आलोचना, युक्रेनी सेनाले लेनिनको मूर्ति पनि भत्काए

रुसका ९२ गाउँ युक्रेनले कब्जा गरेपछि राष्ट्रपति पुटिनको आलोचना, युक्रेनी सेनाले लेनिनको मूर्ति पनि भत्काए

एजेन्सी : रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकहरुले प्रश्न उठाउन थालेका छन्। पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकहरूले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

न्यूयोर्क टाइम्सका अनुसार रुसको कुस्र्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्रियता घटेको दावी गरेको छ। युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ।

पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसहरूले उनको राजीनामाको माग गरिरहेका छन्। युक्रेनी सेनाले रुसको सुदजा सहरमा प्रवेश गरेपछि लेनिनको मूर्ति भत्काएका छन्।

गत वर्ष रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा भएको विद्रोहपछि पुटिनको लोकप्रियता घटेको थियो। यद्यपि पुटिनले पछि यसलाई नियन्त्रण गरेका थिए। अब कुस्र्कमा युक्रेनी सेनाको सफलतापछि पुटिनको लोकप्रियतामा आएको गिरावट फेरि बढेको छ।

अगस्ट ६ तारिखमा युक्रेनले पहिलो पटक रुसको भूभागमा प्रवेश गरी आक्रमण गरेको थियो। त्यसयता युक्रेनले दुई हप्तामा रुसबाट १२६३ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दावी गरिएको छ। युक्रेनी सेना कुस्र्कमा २८–३५ किलोमिटर अगाडि बढेको छ भने ९२ गाउँ कब्जा गरिसकेको जनाइएको छ।

१६ अगस्टमा सुदजामा रुसी र युक्रेनी सेनाबीच युद्ध भएको थियो। त्यहाँबाट रूसी सेना पछि हट्नु परेको थियो।

सन् २०२४ को ८ महिनामा रुसले कब्जा गरेको भन्दा युक्रेनले २ हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ। दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको यति ठूलो भूभाग कब्जा गरेको यो पहिलो पटक हो।

यही कारण सामाजिक सञ्जालमा रुसी जनताले पुटिनसँग युद्ध नीतिमा परिवर्तनको माग गरिरहेका छन्। कुस्र्कमा भएको आक्रमणका कारण जनतामा त्रास फैलिएको उनको भनाइ छ।   

भदौ ७, २०८१ शनिबार १४:३७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।