७५ जिल्लामा फैलियो डेंगी, यी दुई जिल्ला संक्रमण शून्य

७५ जिल्लामा फैलियो डेंगी, यी दुई जिल्ला संक्रमण शून्य

काठमाडौं : बर्खायाम लागेसँगै डेंगी र हैजा रोगको सङ्क्रमण बढेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी रोगको सङ्क्रमण देखिएको बताए।

७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ। यस वर्ष हालसम्म तीन जना डेंगी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ।

काठमाडौं जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेंगी सङ्क्रमण देखिएको छ। वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ।

यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन्। महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौं, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताए।

उनका अनुसार ललितपुरमा ४७ काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई, मकवानपुर एक जनामा हैजा पुष्टि भएको छ।

हैजा अति सङ्क्रामक र शिघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ।

भदौ ७, २०८१ शनिबार १२:०३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।