सीएफमोटो ४५०एमटी मोटरसाइकल अब नेपालमा, यस्ता छन् फिचर
काठमाडौं : विश्वभर प्रसिद्ध मोटरसाइकल निर्माता सीएफमोटोको नेपाली वितरक ऋषि ट्रेड सेन्टरले प्रतिक्षित ४५०एमटी नेपालमा सार्वजनिक गर्ने भएको छ।
नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिने विश्वास गर्दै कम्पनीले आगामी २७ अगस्टबाट हुने नाडा अटो शाेमा ४५०एमटी सार्वजनिक गर्न लागेको हो।
अत्याधुनिक डिजाइन र शक्तिशाली पर्रफर्मेन्सले मोटरसाइकललाई पक्की र कच्ची सडकमा रोमाञ्चक यात्रा गराउने कम्पनीको दाबी छ।
४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल-ट्विन अथवा डुअल सिलिन्डर इन्जिन भएको मोटरसाइकलले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४ एनमको टर्क ७६०० आरपीएममा दिन्छ। क्रुज कन्ट्रो सिस्टम समेत भएको मोटरसाइकलमा स्मुथ र पावरफुल राइड दिने कम्पनीले जनाएको छ।
पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित यो मोटरसाइकलले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ। यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो, जसको तौल १७५ केजी रहेको छ।
मोटरसाइकलमा पूर्ण रूपमा डिजिटल टीएफटी ६ इन्चको डिस्प्ले रहेको छ, जसले स्पिड, इन्धन, ट्रिप इन्फो देखाउँछ। साथै डिस्प्लेका दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न समेत सक्नेछन्।
मोटरसाइकलमा डुअल च्यानल एबीएस रहेको छ, जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ। शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी सहज बनाउँछ।
यसका साथै मोटरसाइकलमा बोस्च ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर-भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशील्ड र केवाईबी सस्पेन्सन रहेको छ। आरामदायी सिट रहेको मोटरसाइलमा राखिएको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान कम गर्छ।
साढे १७ लिटरको इन्धन ट्याङ्की रहेको मोटरसाइकलमा २२० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। अगाडिको टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा गर्न सकिने कम्पनीको दाबी छ।
कम्पनीले यसको मूल्य नाडा अटो शोमा नै सार्वजनिक गर्ने भनिए पनि १२ देखि १५ लाख रुपैयाँसम्म मूल्य पर्नसक्ने अनुमान गरिएको छ।
भदौ ७, २०८१ शनिबार १०:१७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।