सहकारी छानबिन समितिमा नौ घण्टाको बयानपछि रवि लामिछानेले के भने?
काठमाडौं : सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्टिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसँग करिब नौ घण्टा बयान लियो।
राति १ बजेसम्म भएको बयानमा उनलाई ५१ वटा प्रश्न सोधिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए। प्रश्नको जवाफ दिने क्रममा उनले गोरखा मिडियामा लगानी ल्याउने सन्दर्भमा आफू संलग्न नभएको दाबी गरे।
उनले टेलिभिजनको दैनिक गतिविधि र कार्यक्रमतर्फको जिम्मेवारीहरु आफूले हेरेको भन्दै लगानीको सन्दर्भमा गितेन्द्रबाबु राई अर्थात् जीबी राई लगायतका लगानीकर्ताले जिम्मेवारी लिएको बताए।
समितिमा करिब नौ घण्टाको बयान दिएपछि लामिछानेले आफ्नाबारेमा उठेका प्रश्नलाई स्पष्ट पार्ने अवसर दिएको समितिलाई धन्यवाद दिए।
‘आफ्नाबारेमा उठेका प्रश्नको जवाफ दिन पाउनु जनप्रतिनिधिका लागि अवसर पनि हो,’ उनले भने, ‘जुन मिहिनेतका साथ समितिले काम गरेको छ, त्यसले सहकारी समस्या समाधान गर्न फलदायी हुने विश्वास लिएको छु।’
समितिले सहकारी पीडित लाखौं जनतालाई र आफूलाई पनि न्याय गर्ने विश्वास समेत व्यक्त गरे। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका सांसदले भनेका प्रमाणहरू समितिमा आएको आफूलाई जानकारी नभएको बताए।
‘समितिमा आउँदा जुन मसँग छ भनेर दाबी गरिएको थियो, त्यो प्रमाण १०६ दिन हुँदा पनि मैले प्राप्त गर्न सकिनँ,’ उनले थपे, ‘आफ्नो लाइन के हो, मैले त्यहि स्पष्ट पारेको छु। सधैँ चुनौतीका बीच रहिरहेको मान्छे भएकाले मैले आफूलाई थाहा भएको कुरा समितिलाई जवाफ दिएको छु।’
भदौ ८, २०८१ शनिबार ०८:१७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।