सहकारी छानबिन समिति : रातको १ बजे सकियो रवि लामिछानेको बयान
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग नौ घण्टाभन्दा लामो समयसम्म बयान लिएको छ।
समितिले लामिछानेसँग तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो।
समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे शुरु भएको बयान राति १ बजेसम्म चलेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए।
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति, राति १:५ बजे मा’, उनले तीन तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘रवि लामिछानेको सोधपुछ प्रतिवेदनमा हस्ताक्षरपछि...।’
रविलाई समितिले तयार पारेका ५१ प्रश्न सोधिएको थियो। अधिकांश प्रश्नको जवाफमा उनले आफू आर्थिक मामलामा सहभागी नभएको दाबी गरेका छन्।
दैनिक कार्यसञ्चालन र प्रसारण हुने कार्यक्रमको सन्दर्भमा जिम्मेवारी लिए पनि लगानी जुटाउने काम गितेन्द्र बाबु राई अर्थात जीबी राईले गरेको उनको भनाइ थियो।
भदौ ८, २०८१ शनिबार ०७:४५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।