तनहुँ बस दुर्घटनाका सबै मृतकको शव परीक्षण चितवनमा हुने

तनहुँ बस दुर्घटनाका सबै मृतकको शव परीक्षण चितवनमा हुने

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।

त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उनीहरूको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताए।

मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।

दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनै सुरक्षा निकायका एक सयभन्दा बढीको टोली उद्धारमा जुटेको थियो।

यी हुन् मृतक र घाइते
दुर्घटनामा १६ वर्षीय सुहास राय, १० वर्षीया परी भारते, ६० वर्षीय सल्बा भारन्दे भारते, ५० वर्षीया निलिमा जाउडे, ४२ वर्षीया सरला रानी, ४४ वर्षीय पङ्कज भङ्गाडे, ५० वर्षीय सन्दीप राजाराम सरादे, ५७ वर्षीया निलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीया पल्लादे सरादे, ४५ वर्षीया अनिता पाटेल, नाम नखुलेका ५० वर्षीया महिला, ५२ वर्षीया भारती जाउडेको मृत्यु भएको छ।

त्यस्तै, ५१ वर्षीया रोहिणी जाउडे, ६० वर्षीया सुलोमा भारण्डे, ४५ वर्षीय सुवास राणे, ५० वर्षीय प्रकाश नाथकोटी, ३५ वर्षीया लीना भारण्डे, नामथर नखुलेका ५०/५५ वर्षीय पुरुष, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, ४५/५० वर्षीया सरोज मनोज झिरुक, नामथर नखुलेका ३५/४० वर्षीय पुरुष, २५ वर्षीय अनुद सरद, ५६ वर्षीया भारती जाउडे र ५१ वर्षीया सरला तुलसीराम तायडेको पनि दुर्घटनामा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीएसपी दीपककुमार केसीले जानकारी दिए।

उनका अनुसार ६० वर्षीय सुनिल झाण्डे, ४५ वर्षीया भारती पटेल, ३२ वर्षीय अविनास पटेल, ४५ वर्षीया रेखा कोटी, ५५ वर्षीय न्यारेश्वर नोन्डे, ५८ वर्षीय आनन्द इक्ले, ६० वर्षीया आशा पाण्डुरा, ६० वर्षीया सारदा पटेल, ५५ वर्षीय प्रवीण पटेल, ४० वर्षीया मनिषा भङ्गाडे, ५६ वर्षीय हेमराज सरौती, ५८ वर्षीय आशा बोन्डे, ४३ वर्षीया रुपाली सरौदी, ४५ वर्षीया सीमा झिङ्गठे, ६० वर्षीय सुनोदिन झाउडे र ५५ वर्षीया नेलिमा घेरोङ घाइते भएका छन्।

भदौ ७, २०८१ शनिबार ०७:०९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।