‘ममताको घरमै हत्या गरेर शव घिसारेको प्रमाण फेला परेको दाबी, अमेरिकाबाट भाग्ने तयारीमा थिए श्रीमान्’

काठमाडौँ : अमेरिकामा हराइरहेकी काभ्रेकी ममता काफ्लेबारे शुक्रवार अदालतमा भएको बहसमा सरकारीपक्षले उनकै श्रीमान् नरेश भट्टले ममताको हत्या गरेर शव लुकाएको दाबी पेस गरे। उनी नर्स थिइन्।
बिहीबार घरमै पक्राउ परेका उनलाई शुक्रवार अदालतमा पेस गरिएको थियो। अदालतको सुनुवाइ कक्षमा शुक्रवार सरकारी पक्षले नरेशले आफ्नी श्रीमतीलाई जुलाई ३० मा वा त्यस आसपासमा घरमा मारेर, शरीरलाई घिसारेको प्रमाण फेला परेको दाबी गरिएको छ।
सुनुवाइकोक्रममा सरकारीपक्षले ममतालाई अन्तिम पटक देख्ने व्यक्ति नरेश मात्र भएको र घरमा फेला परेका तथ्यहरूले उनले हत्या गरेर शव लुकाएको दाबी गरेका थिए। नरेशको पक्षकाले नरेशको आपराधिक पृष्ठभूमि नरहेको र सरकारी पक्षले गरेको दाबीको प्रमाण नभएको तर्क गरेका थिए। शुक्रवार दुबैपक्षको तर्क सुनेपछि न्यायाधीशले नरेशलाई धरौटीमा छाड्न अस्विकार गर्दै प्रहरी हिरासतमै पठाए। अब सोमबार उनीबारे बहस हुनेछ।
प्रहरीले प्रस्ट रुपमा ममता अझैँ हराइरहेको हो या उनको हत्या भएको हो भन्ने आधिकारिक रुपमा बताइसकेको छैन। तर अदालतमा पेस गरेको कागजमा भने मास्टर बेडरुममा रगत देखिएको, कार्पेटमा पखालिसकेको अवस्थाको रगतको दाग देखिएको, मास्टर बेड रुममा देखिएको जस्तै रगतको टाटा बाथरुम र बाथटबमा देखिएको आधारमा उनको हत्या भएको दाबी गरिएको छ।
उनी जुलाई ३१ बाट बेपत्ता छिन्। हराउनु अगाडि उनलाई अन्तिम पटक देख्ने उनको श्रीमान् मात्र हुन्। तर अगस्ट १ सम्म ममताको मोबाइल सक्रिय नै थियो।
जुन लोकेसनमा ममताको मोबाइल बन्द भयो त्यही क्षेत्रको वालमार्टमा नरेशले सरसफाइमा प्रयोग हुने सामान र चक्कु किनेको सरकारी पक्षको दाबी छ। किनेको चक्कु धोएको अवस्थामा रहेको र तीमध्ये दुई वटा फेला नपरेको दाबी गरिएको छ।
श्रीमती सम्पर्कहीन भए लगत्तै प्रहरीमा जानकारी नदिनु, बयानमा बारम्बार परिवर्तन आउनुलाई समेत नरेशको शङ्कास्पद गतिविधिको रुपमा लिइएको देखियो।
आधिकारिक रुपमा हत्या भनिएको छैन
शुक्रवारसम्म पनि मनासस पार्क प्रहरी अधिकारीहरूले नरेशमाथि हत्याको अभियोग भने लगाएको छैन। ममता हराउनुको शङ्कास्पद व्यक्तिहरूमध्ये नरेश पनि रहेको र उनको घरमा फरेन्सिक परीक्षण गर्दा शङ्कास्पद प्रमाण फेला परेको नरेश पक्राउको कारण बताइएको छ।
उता नरेशको पक्षकाहरुले भने ममताको हत्या भएको प्रमाण फेला नपरेकाले नरेशलाई धरौटीमा छाड्न माग गर्दै नरेश यसका लागि पासपोर्ट बुझाउन र जिपिएस निगरानीमा बस्न समेत राजी रहेको दाबी गरिरहेका छन्।
नरेशको शङ्कास्पद बयान
प्रहरी बयानमा नरेशले ममता न्यूयोर्क वा टेक्ससमा आफन्तहरूलाई भेट्न गएको दाबी गरेका थिए। तर प्रहरी अनुसन्धानमा त्यहाँ उनको कुनै आफन्त नरहेको खुल्यो। उनले ममता हराउनु अगाडि उनले आफ्नो फोन नष्ट गरेको दाबी गरेका थिए। तर फोनले जुलाई २९ मा डेटा प्राप्त गरिरहेको र अगस्त १ सम्म बन्द नभएको दाबी गरेको छ।
यी दुवैको एक वर्षकी छोरी छिन्। उनलाई सरकारी हेरचाहमा राखिएको छ। यता बालिकाको संरक्षणका लागि नेपालमा रहेकी ममताको आमालाई आपत्कालीन भिसामा अमेरिका लैजाने तयारी भइरहेको केही समाचारमा दाबी गरिएको छ।
-सिएनएन,एबिसीन्युज,कोर्ट टिभी लगायतको सहयोगमा
भदौ ७, २०८१ शुक्रबार २३:४२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।