कोशीका आर्थिक मामिला मन्त्री मगरका स्वकीय सचिव हत्याका अभियुक्त

कोशीका आर्थिक मामिला मन्त्री मगरका स्वकीय सचिव हत्याका अभियुक्त

काठमाडौँ : कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरका स्वकीय सचिव सञ्जयकुमार राई हत्या अभियोगका अभियुक्त भएको खुलेको छ।

इलाम २ (ख) का प्रदेश सांसद मगरले स्वकीय सचिव  नियुक्त गरेका राई हत्या अभियोगमा अदालतबाट धरौटीमा छुटेका व्यक्ति रहेको मुलुकी खबरले प्रमाण सार्वजनिक गरेको हो। उनी गत वैशाख २६ गतेदेखि लागू हुने गरी स्वकीय सचिवमा नियुक्त भएका हुन्। उनी २०६८ मा भएको विनोद श्रेष्ठको हत्याको अभियुक्तहरुमध्ये एक हुन्।

मगर २०७९ मंसिर ४ को प्रदेशसभा निर्वाचनमा एमालेबाट प्रदेशको सांसद निर्वाचित भएका थिए। उनी वैशाख २७ गते विना विभागीय मन्त्री नियुक्त भएर पछि आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए।

१३ वर्षअघि मोरङको मधुमल्लामा भएको हत्या घटनामा राई समेत अभियुक्त हुन्। एमाले इलामका जिल्ला सदस्य रहेका उनी विरुद्धको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत मोरङमा विचाराधीन छ।

प्रहरीले घटनामा १४ संलग्न रहेको आरोपमा कर्तव्य ज्यान मुद्दा चलाएको थियो। अभियुक्तहरूमा निर्मल ढकाल, राजकुमार खवास, गोपाल साह, सञ्जय राई, अजय राई, निश्चल लिम्बू, महेश चाम्लिङ राई, इन्द्रकुमार डोकिम राई, राजु लिम्बू, ज्योति तुम्रोक, शक्ति राई, वरदान थापामगर, ध्याने भनिने ध्यानबहादुर राई र रोहित लिम्बू थिए। घटनाको केही समय राई लुकिछिपी बसेका थिए।

प्रारम्भमा तीन जना मात्र पक्राउ परेकोमा सञ्जय २०७२ माघ १० मा अदालतमा हाजिर भएपछि १८ हजार धरौटीमा छुटेका थिए। अदालतमा मुद्दा चलिरहेको छ। उता सोही मुद्दाका अभियुक्त भने मन्त्रीको स्वकीय सचिव भएका छन्।

भदौ ६, २०८१ शुक्रबार २२:३०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।