ग्यालेक्सी टिभीमा सहकारीको पैसा लगानीबारे संसदीय समितिमा बयान दिँदै रविले भने 'मलाई थाहा छैन’

ग्यालेक्सी टिभीमा सहकारीको पैसा लगानीबारे संसदीय समितिमा बयान दिँदै रविले भने 'मलाई थाहा छैन’

काठमाडौँ : सहकारीबाट गोर्खा मिडिया प्रालिमा गएको ८० करोड भन्दा बढी रकमबारे संसदीय छानबिन समितिमा बयानका लागि गएका तत्कालीन प्रबन्ध निर्देशन रवि लामिछानेले ‘लगानी खोज्ने जिम्मेवारी जीवी राइको रहेकाले त्यसबारे आफूलाई जानकारी नभएको’ बयान दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री लामिछानेसँग सहकारीको बचत रकम दुरुपयोगको छानबिन गर्न गठित छानबिन समितिसँगको बयानमा उनले आफू दैनिक प्रशासनिक गतिविधिमा संलग्न रहे पनि कहाँबाट सञ्चालन खर्च ल्याउने भन्ने जिम्मेवारी जीवीको रहेको भन्दै त्यसबारे जानकारी नभएको दाबी गरेका थिए।

जीवी समूह जोडिएका सहकारीमा रहेको बचतकर्ताहरूको रकम दुरुपयोग भएको सार्वजनिक भएसँगै त्यसमा रविको समेत नाम जोडियो। उनको नाम जोडिए देखि नै उनले सहकारीबाट पैसा ल्याएर गोर्खा मिडियामा लगानी भएकोबारे आफूलाई कुनै जानकारी नभएको, आफ्नो नाममा सहकारीबाट जारी भएको भनिएको ऋणबारे जानकारी नभएको र कुनै सहकारीबाट पनि पैसा नलिएको दाबी गर्दै आएका थिए। उनले समितिको बयानमा समेत त्यही दोहोर्याएका थिए।

बयानमा उनले जीवी राईसँग कसरी भेट भयो र उनको व्यवसायबारे जानकारी दिएको समितिका प्रमुख सांसद सूर्य बहादुर थापाले जानकारी दिए। उनीसँग सोध्न समितिले ५० वटा प्रश्नहरू तयार पारेकोमा शुक्रवार आधा मात्र सोध्न भ्यायो।

थापाका अनुसार बयानका क्रममा उनले ऋण लिइएको भनिएको सुर्यदर्शनदेखि स्वर्णलक्ष्मी सहकारीबाट पैसा निकाल्ने विषयमा आफूलाई जानकारी नभएको  र कुनै पनि निर्णयमा आफू सहभागी नभएको बयान दिए। उनले आफ्नो नाममा ऋण र रकम प्रवाह भएको भनिएको कुनै पनि सहकारीमा ऋणका लागि आवेदन नदिएको, हस्ताक्षर नगरेको र आफ्नो नागरिकता समेत नभएको समितिको बयानमा दाबी गरेको थापाले जानकारी दिए।

थापाले लामिछाने र गोर्खा मिडियाबीचको सम्बन्धबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदा ‘कार्यक्रम निर्माण र प्रस्तोताको मूल जिम्मेवारीमा रहेका’ भनेर परिचय दिएका थिए।

जीवी राईसँग मलेसियामा भेट भएको हो या हैन लगायतका अन्य थप प्रश्नहरू सोध्न बाँकी रहेकाले लामिछानेको बयान जारी रहेको थापाले बताए। समितिले शुक्रवारै गोर्खा मिडियाका अर्का तत्कालीन सञ्चालक छविलाल जोशीसँग समेत बयान लिएको थियो। नेपाल प्रहरीका पूर्व डिआइजी रहेका छविलालसँग जीवी राईसँगको सम्बन्ध, कारोबारको जिम्मेवारी लगायतका विषयमा प्रश्न सोधिएको र उनले त्यसमा आफ्नो भूमिकाबारे बयान दिएको थापाले बताए।

भदौ ६, २०८१ शुक्रबार २१:३३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।