तनहुँ दुर्घटनाका १६ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो,२७ भारतीय नागरिकको मृत्यु

तनहुँ दुर्घटनाका १६ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो,२७ भारतीय नागरिकको मृत्यु

काठमाडौँ : तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरामा भएको यात्रु बस दुर्घटनाका १६ जना घाइतेको उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

उनीहरूलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए। त्यसमध्ये २७ जनाको मृत्यु भएको छ।

सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा बस खसेको थियो। पन्ध्र महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

भदौ ६, २०८१ शुक्रबार २१:०२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।