सहकारीको बचत ठगीबारे संसदीय समितिमा रवि लामिछानेको बयान, सबै आरोप अस्वीकार

सहकारीको बचत ठगीबारे संसदीय समितिमा रवि लामिछानेको बयान, सबै आरोप अस्वीकार

काठमाडौँ : संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग बयान लिएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको समितिले शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री लामिछानेलाई समितिमा बोलाएर सहकारीको बचत अपचलनमा संलग्नताबारे बयान लिएको हो।
    
शुक्रवार समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग समेत बयान लिएको थियो। जोशी नेपाल प्रहरीका पूर्व डिआइजी समेत हुन्। उनी जीवी राईसँग संलग्न रहेर नेटवर्किङ शैलीको अवैध व्यवसायमा समेत संलग्न देखिएका थिए।

तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न सहकारीमा रहेका बचतकर्ताको बचत रकम अपचलनमा गोर्खा मिडिया प्रालिका अध्यक्ष जीवी राईसहित रवि समेत संलग्न रहेको भन्दै छानबिन गर्न संसदीय समिति गठनको माग गरेको थियो।

कांग्रेसको माग अनुसार सहकारी विभागले समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ।

सो सहकारीहरूबाट अर्बौँ रकम गोर्खा मिडिया प्रालिको नाममा गएको, सुर्यदर्शन र सुप्रिम सहकारीबाट रविको नाममा समेत रकम गएको देखिएपछि समितिले उनलाई गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा शुक्रवार बयानका लागि बोलाएको हो।

बयानमा लामिछानेले आफू प्रबन्ध निर्देशक भए पनि सहकारीको रकम अपचलनबारे जानकारी नभएको र कुनै पनि सहकारीबाट प्रालिको नाममा पैसा लिनेबारे निर्णयमा सहभागी समेत नभएको दाबी गरेका थिए।

उनले सुप्रिम र सुर्यदर्शन सहकारीबाट आफ्नो नाममा गएको रकमबारे समेत जानकारी नभएको र आफूले ती सहकारीबाट ऋण निकाल्न निवेदन दिने लगायतका कुनै पनि गतिविधिमा संलग्न नरहेको दाबी गरेका थिए।

भदौ ६, २०८१ शुक्रबार १८:४०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।