कांग्रेस-एमाले सरकारप्रति भारतको सकारात्मक रेस्पोन्स : राणा

कांग्रेस-एमाले सरकारप्रति भारतको सकारात्मक रेस्पोन्स : राणा

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै एमाले र नेपाली कांग्रेसमिलेर बनेको सरकारप्रति भारतको सकारात्मक रेस्पोन्स पाएको बताइन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनले शुक्रवार  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै नेपालमा ठुला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको अनुभव गरेको दाबी गरिन्।

उनी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणमा गएकी थिइन्। उनले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको समेत बताइन्।

राणा बिहीबार स्वदेश फर्किएकी थिइन्। कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले भ्रमणबाट दुई मुलुकका बिचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको दाबी गरिन्।

मन्त्री डा राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरू राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरूका माध्यमबाट सहयोग र सहकार्य थप प्रवर्द्धन गर्न मार्गदर्शन गरेको बताइन्।

महिलाको प्रतिनिधित्व बढाऔँअनुशासनमा ध्यान दिऊँ    
उनले  बैठकमा कांग्रेसले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्वको विषयलाई थप ध्यान दिनुपर्नेमा जोड दिइन्।

कतिपय प्रतिनिधिमण्डलमा महिलालाई नै सहभागी गराऊँ भन्दा पनि त्यो तहमा महिला उपलब्ध नभएको भन्दै उनले यस्ता विषयमा अब हाम्रो पार्टीले अझै ध्यान दिनुपर्ने बताइन् ।

कांग्रेसको समावेशिताको नीतिकै कारण उच्च तहमा महिला पुगेको दाबी गर्दै उनले यसलाई थप अगाडि बढाउनु जरुरी रहेको बताए। पार्टी या अन्यत्र पनि पदाधिकारी तहमा महिलाको सहभागिता गराउनु जरुरी रहेको उनले बताइन्।

उनले गएको संसदीय निर्वाचनमा पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेसका कैयौँ उम्मेदवारले झिनो मतान्तरले निर्वाचन हारेको भन्दै पार्टीभित्र अनुशासन अति जरुरी रहेको बताइन्।

भदौ ६, २०८१ शुक्रबार १८:१७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।