एआइजी ज्ञवालीबारे छानबिन समितिले 'गम्भीर प्रमाण फेला पार्‍यो', तर नरम प्रतिवेदन लेख्न आइजिपीको ‘निर्देशन’

एआइजी ज्ञवालीबारे छानबिन समितिले 'गम्भीर प्रमाण फेला पार्‍यो', तर नरम प्रतिवेदन लेख्न आइजिपीको ‘निर्देशन’
एआइजी ज्ञवालीसँग आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन सम्झौता गर्दै आइजिपी कुँवर। तस्बिर : नेपाल प्रहरी।

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख रहँदा पदीय दुरुपयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालयले नै छानबिन गरिरहेको एआइजी श्याम ज्ञवालीसँग प्रहरी महानिरीक्षक वसन्त कुँवरले कार्यसम्पादन सम्झौता गरे।  ज्ञवालीसँग बिहीबार आइजिपी कुँवरले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन सम्झौता गरे।

सिआबीमा रहेका उनलाई कार्यअवधी पुरा हुनुभन्दा अगाडि नै सरुवा गरेर प्रदेश समन्वय विभागमा पूर्याइएको थियो। सिआइबीमा रहँदा चेनअफ कमान्ड क्रस गरेर काम गरेको, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी अनुसन्धानमा आर्थिक अपचलनको गतिविधिमा संलग्न रहेको आफू मातहतको प्रहरी कर्मचारीको गलत परिचालन गरेको लगायतका आरोपमा कुँवरको निर्देशनमा टेकबहादुर राईको संयोजकत्वमा छानबिन भइरहेको छ।

बर्खास्तीसम्मको प्रमाण, तर आइजिपी नरम

छानबिन समिती स्रोतका अनुसार अनुसन्धानकोक्रममा उनलाई बर्खास्त गर्नेसम्मको निर्णय गर्न सकिने तथ्यहरू फेला परेका छन्। तर प्रहरी महानिरीक्षक कुँवर आफैँ पछिल्लो समय ज्ञवालीसँग नरम देखिएको स्रोतले बतायो।

जानकारस्रोतका अनुसार सुन तस्करीमा फरार रहेका जीवन चलाउनेसँगको सम्बन्धबारे अनुसन्धान गर्दा गम्भिर तथ्यहरु फेला परेका हुन्। यस अगाडि नै चलाउनेले ज्ञवालीले आफूसँग पैसा मागेको तर आफूले नदिएपछि प्रतिशोधनमा फसाउन खोजेको दाबी गरेका थियो। यो प्रकरणमा रवि केसी समेत जोडिएका छन्। 

प्रहरी महानिरिक्षकको प्रतिष्पर्धाकोक्रममा केसी ज्ञवालीलाई आइजिपी बनाउन शक्ती केन्द्रहरुमा लबिङमा सक्रिय थिए। अनुसन्धानकोक्रममा ज्ञवाली र केसीको शंकास्पद सम्बन्ध समेत देखिएको जानकारस्रोतले उकेरालाई बतायो। केसी मदिरा र चुरोटको व्यवसायमा संलग्न छन्।

उकेरासँगको कुराकानीमा आइजिपी बन्ने प्रतिष्पर्धा भइरहेको बेलामा उनी र रवि केसी एक रेष्टुरेन्टमा ज्ञवालीलाई भेट्न गएका थिए। भेटकाक्रममा आइजिपी हुन केही पैसा चाहिएको भन्दै ज्ञवालीले पैसा मागेका थिए। तर तत्काल आफूसँग नभएकाले दिन नसकेको र पछि उनी त्यसको प्रतिशोधमा लागेको दाबी गरेका थिए।

आइजिपीको तिब्र प्रतिष्पर्धाहुँदा ज्ञवालीलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साथ दिए पनि सत्ता सहयोगी नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको हस्तक्षेपपछि कुँवर नियुक्त भएका थिए।

 सम्बन्धबारे ज्ञवालीले अस्विकार गर्दै 'फरार रहेकाले भनेको सत्य नहुने' तर्क गर्दै आएका छन्। केसीसँगको सम्बन्धबारे भने उनी मौन छन्।

उनले छानबिन समितिलाई प्राप्त प्रमाणको आधारमा कारबाहीको सिफारिसको साटो प्रतिवेदन अलि नरम बनाउन निर्देशन दिएको विश्वस्तस्रोतले बतायो। तर राईले भने अनुसन्धानमा जे-जे देखिएको छ सो सिफारिस गर्ने अडानमा छन्।

तत्कालिन सेन्चुरी बैंकको ऋण हिनामिनाको अनुसन्धानमा आर्थिक अपचलन गरेको आरोपबारे समेत उनीबारे अनुसन्धान भइरहेको छ। तत्कालिन गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको पुष्टी हुनसक्ने प्रमाण नष्ट गर्ने प्रयास गरेको, गृहमन्त्रीको ब्यक्तीगत स्वार्थमा ब्युरोको जनशक्तीको दुरुपयोग गरेको, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता विवादबारे जिल्लाले गरिरहेको अनुसन्धानमा ब्युरोबाट हस्तक्षेप गरेकफ लगायतका विषयमा समेत अनुसन्धान भइरहेको स्रोतले बतायो।

भदौ ६, २०८१ शुक्रबार १५:२९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।