‘खाडीको दुःख भन्दा देशको बुकीमा भैँसी पाल्दा सजिलो’

‘खाडीको दुःख भन्दा देशको बुकीमा भैँसी पाल्दा सजिलो’

 म्याग्दी : परम्परादेखि भेडा पाल्दै आएका बागलुङ तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै गएका छन्। पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा साउन अन्तिम साता भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाएका थिए।

 ‘पहिले एक सय भेडाबाख्रासँगै आठ-दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्थेँ। गाईभैँसी बेचेर सकिए। ४० भेडाबाख्रा छन्,’उनले भने ‘छोराछोरीले यो पेसा रोजेनन्। विदेश तिर लागे। बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाहे हुन थाल्यो। अब भएका भेडाबाख्रा बेचेर आराम गर्छु।’

ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरू छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरिरहेका थिए। उनका सन्तान कोही बिदेसिए, कोही शहर पसे। बूढाबूढीले घर कुर्नेकी गोठ कुर्ने अन्योल भएपछि अब यो काम छाड्ने तयारीमा लागेका रहेछन् थापा।

१५–२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरू अहिले रित्ता हुँदै गएको थापाले बताए। खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै पातलो हुँदै गएका छन्। युवा र वयस्क उमेरका गोठाला भेटिँदैनन्।    
    
 वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेसा सङ्कटमा परेको ढोरपाटनको छेन्तुङका बस्दै आएका धवलागिरि गाउँपालिका–७ ताकमका पूर्व प्रधानपञ्च विष्णुबहादुर थापाले बताए।

८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोसिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरू निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताए।
असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेसीतर्फ झार्ने चलन छ। अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्क विहीन भएर पशुहरूसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन्।

पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुर्ख्यौली गोठाला पेसालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गए पनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठ नै राम्रो भएको अनुभव सुनाउँछन्। २१ भैँसी पालेका शक्तिबहादुरले घ्यु, राँगा भैँसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घर खर्च चलाउने गरेको बताए।

‘दुःख त यहाँ भन्दा विदेशमा कति हो कति,’ उनले भने’मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ।’

भदौ ७, २०८१ शुक्रबार १५:१५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।