बादी समुदायलाई 'झुप्रा'को त्रास, भन्छन्- ‘खोलाकै डर अनि यसकै भर’

बादी समुदायलाई 'झुप्रा'को त्रास, भन्छन्- ‘खोलाकै डर अनि यसकै भर’

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-११ की ४५ वर्षीया रुपा बादी अहिले रातभर सुत्न पाउँदिनन्।

खोला किनारमै रहेको घर कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले सताउँछ उनलाई। हिउँदमा ढुक्कले सुत्ने उनी बर्खा लागेपछि यसरी नै त्रासमा बाँच्नुपर्छ।

‘राती कतिबेला भल आएर घरसहित लिने हो भन्ने चिन्ताले रातभर नसुतेरै बस्छु,’ उनले भनिन्, ‘आकाश सफा भएको दिन त सुत्छौँ। नभए असार यता आकाश गड्याङ्गगुडुङ्ग भएपछि सुतेका छैनौँ।’

त्यस्तै ५५ वर्षीया लालसरा बादीलाई पनि वर्षा बढेसँगै चिन्ता बढेको छ। आकाशमा पानी आउने संकेत पाएपछि उनीसहित सात जनाको परिवार रातभर जागराम बस्छन्।

‘लगातार एक दुई दिन पानी परेपछि घरकै डिलमा खोला आइपुग्छ,’ लालसराले भनिन्, ‘हामीलाई त यो खोलाकै डर छ, यसैको भर छ। हिउँदमा यहीबाट बालुवा र गिट्टी कुटेर जहान परिवार पाल्छौँ।’

रुपा र लालसरा मात्रै होइनन्, झुप्रा खोला किनारमा बस्दै आएका १ सय ४१ घरधुरी हरेक वर्षको वर्खामा रातभर सुत्न पाउँदैनन्। झुप्रा खोला र भेरी नदीको पानीको बहाव सिधै बस्तीतर्फ सोझिने हुँदा बस्ती बाढीको जोखिममा छ।

२०७१ सालको बाढीले यो बस्तीलाई तहसनहस बनाएको थियो। पछि अवस्था सामान्य भएपछि त्यही बगरमै बसेर बालुवा गिट्टीबाटै यहाँका बादी समुदायले जीविकोपार्जन गर्दै आएका छन्।

असारदेखि भदौसम्म स्थानीय सरकारले खोलाबाट ढुङ्गा र बालुवा निकासी बन्द गर्छ। जसकारण यहाँका स्थानीय वीरेन्द्रनगर बजारमा ज्याला मजदुरी गर्न जाने गरेको स्थानीय बलु बादीले बताए।

वीरेन्द्रनगर बजारदेखि करिब १३ किमी पूर्वमा बसोबास रहेको झुप्रा बस्तीमा २०४४ सालदेखि ऐलानी जग्गामा बस्दै आएका छन्।

६५ र ७१ सालमा खोलामा तहसनहस बनाए पनि हालसम्म यो बस्तीलाई न सुरक्षित स्थानमा सारिएको छ, न त खोलामा तटबन्ध नै लगाइएको छ। उनीहरूले सुरक्षित बाँच्न पाउने अधिकारको प्रत्याभूति राज्यले गराउन समेत आग्रह गरे।

‘गरिबी, अशिक्षा, बेरोजगारी यस बस्तीका मुख्य समस्या छन्। नागरिक लालपुर्जाविहीन छन्।  वर्षौंदेखि जग्गाको मालिक बन्ने सपना राज्यले कहिले पूरा गर्छ,’ बादी अगुवा  शुसीला बादीले बताइन्, ‘खानेपानीको समस्या त्यस्तै छ। सुरक्षित बाँच्न पाउने अधिकारको प्रत्याभूति राज्यले दिन सकेको छैन।’

भदौ ७, २०८१ शुक्रबार १४:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।