आँबुखैरेनी दुर्घटनामा ११ जना बेपत्ता, उद्धार गरिएका २९ जनामध्ये १४ जना अचेत

आँबुखैरेनी दुर्घटनामा ११ जना बेपत्ता, उद्धार गरिएका २९ जनामध्ये १४ जना अचेत

काठमाडौं : तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको दुर्घटनामा ११ जना बेपत्ता भएका छन्।

पोखराबाट काठमाडौं आइरहेको भारतीय पर्यटक सवार युपी ५४ एफटी ७६२३ नम्बरको बस शुक्रबार दिउँसो ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो।

दुर्घटनापछि २९ जनाको उद्धार गरिएको गण्डकी प्रदेश कार्यालयका प्रहरी प्रवक्ता डीएसपी दीपकबहादुर केसीले जानकारी दिए।

‘२९ जनाको उद्धार भएकोमा १४ जना अचेत अवस्थामा हुनुहुन्छ भने १५ जना बोल्न सक्ने अवस्थामा हुनुहुन्छ,’ उनले उकेरासँग, ‘उहाँहरूलाई माथि बाटोमा ल्याएर अस्पताल पठाउने काम भइरहेको छ।’

यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा ४० जना सवार रहेको उकेरासँगको कुराकानीमा बताएका थिए।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गर्ने काम गरिरहेका छन्। दुर्घटनास्ल अप्ठ्यारो ठाउँमा भएकाले मर्स्याङ्दी नदी किनारबाट घाइते र अचेत मानिसहरुलाई सडकमा ल्याउने काम भइरहेको छ।

भदौ ६, २०८१ शुक्रबार १३:२७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।