भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु

एजेन्सी : भारतको उत्तराखण्डस्थित केदारनाथ नजिकै पहिरोमा पुरिएर बिहीबार राति चार नेपालीको मृत्यु भएको छ।

फाटा हेलिप्याड नजिकै खाट गडेरेमा पहिरोले घर पुर्दा नेपालबाट मजदुरीका लागि भारत गएका उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु हुनेहरूमा तुलबहादुर, पूर्ण नेपाली, कृष्ण परियार र चिकु बुरा रहेको रुद्रप्रयागका जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले जनाएको छ।

उनीहरूको पूर्ण विवरण आइसकेको छैन।

बिहीबार राति करिब सवा १ बजे भारी वर्षाका कारण फाटा हेलिप्याडको छेवैमा खाट गडेरे नजिकै भग्नावशेषमा चार जना पुरिएको सूचना प्राप्त भएपछि राहत र उद्धारका लागि उद्धार टोली घटनास्थलमा पठाइएको राजवारले बताए।

उनका अनुसार  सडक अवरुद्ध हुँदा उद्धार टोली करिब दुई किलोमिटर पैदलै घटनास्थल पुगेका थिए।

भारी वर्षाका कारण जेसीबी मेसिन पुग्न नसक्ने भएपछि उद्धार टोलीले खनेर भग्नावशेषबाट चार जनाको शव निकालेको थियो। चार जनाकै शवलाई उद्धार टोलीले रुद्रप्रयाग लैजाँदैछ।

भदौ ७, २०८१ शुक्रबार १३:०३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।