नेपाली नर्स ममताका श्रीमानविरुद्ध श्रीमतीको  हत्या गरेर शव बेपत्ता बनाएको आरोप

नेपाली नर्स ममताका श्रीमानविरुद्ध श्रीमतीको  हत्या गरेर शव बेपत्ता बनाएको आरोप
ममता बस्ने घरमा प्रहरी भ्यान र उनका श्रीमान् नरेश

भर्जिनिया : अमेरिकामा तीन हप्तादेखि हराइरहेकी ममता काफ्ले भट्टको हत्यापछि शव बेपत्ता बनाएको आरोपमा उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ।

ममताको खोजीमा खटिएको प्रहरीको अनुसन्धान समूहले उनको घरमा प्रमाण संकलन गरेपछि हत्या गरेर शव बेपत्ता बनाएको आरोपमा बिहीबार पक्राउ गरेको हो।

काभ्रेबाट अमेरिका गएकी नर्स ममता हराएको तीन हप्तापछि प्रहरीले मानासस पार्कका रहेको उनी बस्ने घरमा पुगेर अनुसन्धान गरेको थियो।

फरेन्सिक भ्यानसहित पुगेको प्रहरीले हत्या भएको केही प्रमाण भेटिएको भन्दै नरेश भट्टलाई हत्कडी लगाएर लगेको हो। एक वर्षीया छोरीलाई प्रहरीले चाइल्ड केयर सेन्टरमा राखेको छ।

यो घटना मानासस पार्क प्रहरी विभाग (एमपीपीडी)ले ममता र नरेश बस्ने घरमा खानतलासी गर्न वारेन्ट जारी गरेको थियो।

नरेशलाई पक्राउ गरेपछि बुधबार साँझ एक पत्रकार सम्मेलनमा प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरूमा नरेश पनि समावेश रहेकाले उनलाई पक्राउ गरेको बतायो। भट्टले प्रहरी अनुसन्धानमा सहयोग नगरेको प्रहरीको भनाइ छ।

२८ वर्षीया ममता एक नर्स थिइन्। उनी कार्यालयमा अनुपस्थित भएपछि उनीसँगै काम गर्ने सहकर्मीले प्रहरीलाई जनकारी गराएकी थिइन्। नरेशले भने अगस्ट ५ तारिखमा मात्र ममता हराएको खबर प्रहरीमा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

अदालतबाट आदेश लिएर घरमा प्रमाण खोजेको टोलीले ममताकै श्रीमानलाई पक्राउ गरे पनि अझै विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।

यसैबीच प्रहरीले नरेशलाई पक्राउ गरेर लगेपछि त्यहाँ रहेका नेपाली समुदायले ममताको सम्झनामा मैनबत्ती बालेका छन्।

भदौ ६, २०८१ शुक्रबार १२:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।