काठमाडौंमा भारतीय युट्युबरको घुम्ने ठाउँ, ‘प्रधानमन्त्री निवास बालुवाटार’

काठमाडौंमा भारतीय युट्युबरको घुम्ने ठाउँ, ‘प्रधानमन्त्री निवास बालुवाटार’

काठमाडौं : नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउँछन्। तीमध्ये अधिकांशले पशुपतिनाथ दर्शन गर्छन्। छोटो सयमको छुट्टी लिएर आउनेहरू चन्द्रागिरी हिल्स, स्वयम्भूनाथ, बौद्ध स्तुपा, भक्तपुर, पाटन र टाढामा नगरकोटसम्म पुग्छन् भने लामो छुट्टी लिएर आउनेहरू पोखरा र मुस्ताङको मुक्तिनाथसम्म पुग्छन्।

त्यसैमध्येका एक भारतीय पर्यटक भने घुम्नकै लागि बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका छन्। भारतबाट बेलायत भ्रमणका लागि नेपालको बाटो हुँदै चीन जान लागेका उनी केही दिन नेपाल बसेर चीन प्रवेश गर्दैछन्। उनलाई उनका दुषित नामका होस्टले बालुवाटार पुर्याएका हुन्।

कुटनीतिक गाडीमा सवार ‘तनिष’ नामका ती होस्टले उनलाई घुमाउन लैजाने भनेर बालुवाटार पुर्याए। युट्युबर दयालले प्रधानमन्त्री निवासमा आउन पाउँदा खुसी लागेको बताए। ठमेल घुम्न र नाइट लाइफ इन्जोय गर्न निस्केका उनी प्रधानमन्त्री निवास पुग्दा आफैँ आश्यर्चमा परेका थिए।

उनले भिडियोमा भनेका छन्, ‘म अहिले नेपालको प्रधानमन्त्री निवासमा छु। म अहिले पार्किङमा छु। अहिले तनिष भाइ भित्र गएका छन्। अचानक उनले मलाई ‘आऊ हाम्रो प्रधानमन्त्रीसँग भेटाउँछु’ भने। म उहाँको एक मिनेट टाइम पनि खर्च गर्नसक्ने ओहदाको मान्छे हैन भनेर मैले जान्न भनेँ।’

प्रधानमन्त्री निवास एकदमै संवेदनशील क्षेत्र हो। कतिपय अवस्थामा त्यस वरपर भएर हिँड्न नेपाली नागरिकलाई कति समय दिइँदैन। तर, यहाँ त एक भारतीय युट्युबर विना अपाेइन्टमेन्ट, विना कुनै अवरोध सिधै प्रधानमन्त्री निवास प्रवेश गरेका छन्।

नेपालका मन्त्री भारत जाँदा त्यहाँका प्रधानमन्त्रीले भेट्न समेत मन गर्दैनन्। तर, उताका सामान्य युट्युबर नेपाल आउँदा उनीहरूको पहुँच प्रधानमन्त्री निवाससम्म छ।

भदौ ६, २०८१ शुक्रबार १०:२४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।