बङ्गलादेशको अन्तरिम सरकारले शेख हसिनाको कूटनीतिक राहदानी रद्द गर्यो

बङ्गलादेशको अन्तरिम सरकारले शेख हसिनाको कूटनीतिक राहदानी रद्द गर्यो

एजेन्सी : बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ। 

हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ।  

ढाकामा विद्यार्थी आन्दोलन चर्किएपछि धेरैजसो प्रहरीको गोलीबाट गरी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो। 

विरोध प्रदर्शनका क्रममा मानवाधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भन्नेबारे मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घको टोली बिहीबार बङ्गलादेश पुगेको छ। 

'पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्वमन्त्रिपरिषद र विघटन भएको संसद्का सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए', गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, 'यदि उनीहरूलाई पदबाट हटाइएको छ वा सेवानिवृत्त गरिएको छ भने उनीहरू र उनीहरूको पति/पत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ।'

हसिना र उनको कार्यकालमा अन्य पूर्व शीर्ष अधिकारीहरूले मानक राहदानीका लागि आवेदन दिनसक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहने ढाकाका नयाँ अधिकारीहरूले बताए। 

'उपर्युक्त व्यक्तिहरूले सामान्य राहदानीका लागि नयाँ आवदेन दिँदा दुईवटा सुरक्षा निकायले उनीहरूको राहदानी जारी गर्नका लागि निवेदनलाई मञ्जुरी दिनुपर्छ', मन्त्रालयले भनेको छ।  

भदौ ५, २०८१ बिहीबार २१:५८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।