ओलीले प्रतिपक्षमा हुँदा टिकटक ब्यान्ड गर्न उक्साए प्रचण्डलाई, आफैँ सरकारमा आएपछि प्रतिबन्ध हटाए

ओलीले प्रतिपक्षमा हुँदा टिकटक ब्यान्ड गर्न उक्साए प्रचण्डलाई, आफैँ सरकारमा आएपछि प्रतिबन्ध हटाए

काठमाडौं : सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। तर, प्रतिबन्ध हटाउने निर्णय भएपनि टिकटक खुल्न भने अझै केही समय लाग्ने भएको छ।

टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको गुरुङले बताए।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसबेला टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको थियो।

टिकटकको लाइभ स्ट्रिमिङदेखि छोटा भिडिओहरू नेपाली समाजसँग मेल नखाने भएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको प्रचण्ड नेतृत्वको सरकारले दाबी गरेको थियो। 

तर, त्यसबेलाको सरकारले पनि यो निर्णय लिनुअगाडि सर्वदलीय समझदारी जुटाएको थियो। प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरूसँग परामर्श गरेका थिए। त्यसबेला टिकटकको प्रतिबन्धमा प्रमुख दलहरूले मौन समर्थन जनाए।

अझ त्यसबेला भएको सर्वदलीय बैठकमा तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक बन्द गर्न सरकारलाई उक्साएका मात्र थिएनन्, करै गरेका थिए। त्यसपछि ओलीकै सुझाव अनुसार प्रचण्ड सरकारले टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

त्यसबेला प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘परिवारदेखि पार्टी र सरकारमा समेत टिकटक ठूलै समस्याका रूपमा देखिएको बुझाइ रह्यो। हुँदाहुँदा सत्ता गठबन्धनका नेतादेखि विपक्षी दलका नेतासमेत आएर प्रतिबन्ध लगाउनैपर्ने भन्न थालेपछि सरकारले यो निर्णय लिएको हो।’

त्यसपछि सरकारको निर्णय पुनर्विचारका गर्न चिनियाँ पक्षले सरकारलाई आग्रह गरेको थियो। यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले जारी गरेको सामाजिक सञ्जाल निर्देशिकाले नेपालको कानुन मानेर आउने जुनसुकै प्लेटफर्म पनि सञ्चालन हुन पाउने उल्लेख थियो।

टिकटकले सरकारलाई प्रतिबन्ध खुलाउन आग्रह गर्दै ९ महिनाको अवधिमा ८ वटा पत्र पठाइसकेको छ। एक साताअघि मात्रै दक्षिण एसियाको सार्वजनिक नीति र सरकार सम्बन्ध इकाईले सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङलाई पत्र लेखेर आफू नेपालको सबै कानुनको परिपालन गर्न प्रतिबद्ध रहेको दोहोर्याएको थियो।

टिकटकले नेपालको हरेक कानुनी प्रावधान आफूहरूका लागि स्वीकार्य रहेको ब्यहोराको पत्र पठाएपछि सञ्चारमन्त्रीले प्रधानमन्त्रीसँग छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न मन्त्री गुरुङलाई निर्देशन निर्देशन दिए।

त्यसपछि सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउने भन्दै गत साउन २४ मा सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री ओलीले दिएको  निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो। 

अहिले सामाजिक सञ्जालमा कुनै कुनै किसिमको प्रतिबन्ध लगाउन नहुने भन्दै उनले सञ्चार मन्त्रालय र आफ्नो टिमलाई टिकटकको प्रतिबद्धताबारे छलफल गरेर आवश्यक प्रस्ताव मन्त्रिपरिषद्‌मा ल्याउन भनेपछि मन्त्रिपरिषद्‌मा छलफल भएको र त्यसैअनुसार टिकटक प्रतिबन्ध खुलाइएको हो।  

 

भदौ ५, २०८१ बिहीबार २०:४७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।