भारतमा १० वर्षमा १० हजार मेगावट विद्युत् निर्यातका लागि कार्ययोजना तयार छ : प्रधानमन्त्री

भारतमा १० वर्षमा १० हजार मेगावट विद्युत् निर्यातका लागि कार्ययोजना तयार छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षमा भारतमा १० हजार मेगावट विद्युत् निर्यातका लागि मार्गचित्र तथा कार्ययोजना तयार रहेको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणप्रकाश साउदले सोधेको  प्रश्नको जवाफ दिँदै उनले भारतमा विद्युत् निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार पारेको बताए। 

उक्त मार्गचित्र तथा कार्य योजनामा आर्थिक वर्ष २०९१/९२ सम्म करिब १३ हजार पाँच सय मेगावट विद्युत् आन्तरिक माग पूर्तिका लागि र करिब १५ हजार मेगावट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यात गरिने उल्लेख रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। 

त्यस अवधिसम्म नेपालको कूल विद्युत् उत्पादन क्षमता २८ हजार पाँच सय मेगावट पुर्याइने लक्ष्य लिइएको र उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषद्मा पेस भइसकेको उनले बताए। 

हाल नेपालको कूल विद्युत् उत्पादन क्षमता करिब तीन हजार दुई सय ४० मेगावट पुगेको र आव २०९०/९१ सम्ममा करिब २६ हजार मेगावट विद्युत् थप उत्पादन हुने प्रक्षेपण सहितको कार्ययोजना तयार भएको छ। 

कार्य योजनामा विद्युत् खरिद सम्झौता सम्पन्न भएका आयोजनाबाट पाँच हजार आठ सय ७३ मेगावट, विद्युत् खरिदको प्रक्रियामा रहेका आयोजनाबाट तीन हजार दुई सय पाँच मेगावट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाबाट तीन हजार एक सय आठ मेगावट विद्युत् उत्पादन हुने प्रक्षेपण छ। 

त्यसैगरी कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाबाट पाँच हजार छ सय ४८ मेगावट तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीबाट अध्ययन सम्पन्न भएका ठूला प्रकृतिका तथा विद्युत् खरिद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाबाट चार हजार चार सय ३१ मेगावट र भारतीय कम्पनीबाट प्रबर्द्धन भइरहेका आयोजनाबाट तीन हजार छ सय ७९ मेगावट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको प्रधानमन्त्री ओलीले बताए। 

उनले आगामी १० वर्षमा भारतसँग १० हजार मेगावट विद्युत् व्यापारका लागि आवश्यक उच्च भोल्टेज स्तरका विभिन्न अन्तर्देशीय विद्युत् प्रसारण लाइन विकासका क्रममा रहेको जिकिर गरे। 

प्रधानमन्त्री ओलीले दुई हजार पाँच सय मेगावट विद्युत् प्रसारण क्षमताको बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०२५ सम्म सम्पन्न हुने गरी निर्माण भइरहेको बताए। 

त्यसैगरी, दुई पाँच सय मेगावट विद्युत् प्रसारण क्षमताका थप दुई वटा ४०० केभी अन्तर्देशीय विद्युत् प्रसारण लाइन इनरुवा–पूर्णिया र लम्की–बरेली कार्यान्वयनका चरणमा छन्। यी अन्तर्देशीय विद्युत् प्रसारण लाइन सन् २०२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी नेपाल र भारतबीच सहमति भएको उनको भनाइ छ। 

प्रधानमन्त्रीले लफ्सीफेदी–रातामाटे–न्यू हेटौडा र रातामाटे–न्यू दमौली–न्यू बुटवल ४०० केभी विद्युत् प्रसारण लाइन निर्माण कार्य छिट्टै सुरू  गरिने दाबी गरे। 

'यी प्रसारण लाइनका सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। खिम्ती-बाह्रबिसे-काठमाडौं ४०० केभी, मर्स्याङ्दी करिडोर २२० केभी र चिलिमे-त्रिशूली २२० केभी विद्युत् प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ', उनले भने। 

प्रधानमन्त्री ओलीले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी विद्युत् प्रसारण लाइन र देशका प्रमुख लोड केन्द्र भएर जाने साउथ करिडोर विद्युत् प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइएको बताए। 

नेपालले भारतीय विद्युत् ग्रीड प्रयोग गरी बङ्गलादेशमा ४० मेगावट विद्युत् निर्यात गर्न सम्झौता सम्पन्न गर्ने तयारी कार्य अन्तिम चरणमा रहेको पनि जानकारी गराए। 

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमपछि भर्खरै अन्तरिम सरकार गठन भएको सन्दर्भमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उपर्युक्त सम्झौता यथाशक्य छिटो सम्पन्न गर्न पहल भइरहेको प्रधानमन्त्री ओलीको जिकिर छ।  

भदौ ५, २०८१ बिहीबार १८:५५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।