'जवान'को साहरुख जस्तै पो देखिए 'एक्टर : टेक वान’ को फस्ट लुकमा अभिनेता प्रदीप

'जवान'को साहरुख जस्तै पो देखिए 'एक्टर : टेक वान’ को फस्ट लुकमा अभिनेता प्रदीप

काठमाडौँ : तिहारमा लक्ष्मीपूजाको दिन कात्तिक १५ गते रिलिज गरेर राम्रै लक्ष्मी भित्र्याउने योजनामा रहेका फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टरमा अभिनेता प्रदीप खड्का ‘प्रदीप कम, फिल्म जवानको साहरुख खान’ बढी देखिए।

शुक्रवार सार्वजनिक भएको फस्ट लुकमा प्रदीपको एकल तस्बिर भए पनि पाँच रूप राखिएको छ। घाइते, दौरा सुरुवाल, पाइलट र क्याजुयल ड्रेसमा देखिएका उनी साहरुख जस्तै देखिनुको रहस्य चैँ लुक्सका कारण हैन, पोस्टरको डिजाइनका कारण हो।

जवानको दुई पोस्टर मिलाउने हो भने ठ्याक्कै एक्टरकै जस्तै बन्ने रहेछ। जवानको पोस्टरमा साहरुख पनि घाइते, क्याजुयल अनि प्रहरीको पोसाकमा छन्। एक्टरमा प्रहरीको साटो पाइलटको पोसाक छ। अनि ढाकाटोपी र दौरा साहरुखले लगाएका छैनन्।

जवानमा साहरुखले अनुहारमा ब्यान्डेज बाँधेका छन्। यता एक्टरमा प्रदीपले ब्यान्डेजको मात्रा बढाएर हात र गलासम्म पनि घेरेका छन्। पोस्टर डिजाइन शैली हेर्ने हो भने फरकपन देखिन्न।

फिल्मको हाइप बढाउँदै जान सार्वजनिक भएको फस्टलुकै यतीको हल्का अक्कल लगाएर नक्कल गरेपछि फिल्मको हालत के होला? अनि यति मिहेनत गरिसकेपछि तब्बु ए...हैन...हैन, आना शर्मालाई नी पोस्टरमा समेटेको भए भइहाल्थ्यो।

यो फिल्म राजन भुसालले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीपसँगै दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायतका कलाकार छन्।

पोस्टरमा उनीहरूले स्थान पाएका छैनन्। एकल प्रदीप हाबी भएका छन्। फिल्मको निर्माता थमन कुमारी भण्डारी हुन्। अनि जवानको लुक्स आउने गरी मिहेनत गरेर पोस्टर डिजाइन गर्ने रोयल भीमसेन हुन्।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म नरेन्द्र मैनालीले खिचेका हुन्। क्रियटिभ प्रोडुसरका रूपमा मोती कार्की छन् भने लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन्।

फिल्मका आकाश बराल र राजन भुसालले लेखेका हुन्। उनीहरूले पनि फिल्ममा कतै रोयल भीमसेनकै जस्तो मिहेनत त नगरेका होलान् कि !

फिल्ममा शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको सङ्गीत रहेको निर्माणपक्षले जानकारी दिएको छ। फिल्मको वितरण एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले गर्दैछ। 

भदौ ६, २०८१ बिहीबार १८:४४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।