बिहीबार हर्बोका तत्कालीन निर्देशक पुष्पराजसँग समितिको बयान, शुक्रवार छवि र रविको पालो

बिहीबार हर्बोका तत्कालीन निर्देशक पुष्पराजसँग समितिको बयान, शुक्रवार छवि र रविको पालो

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बिहीबार तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल पुरुषसँग सोधपुछ गरेको छ।

हर्बोहुँदै सहकारीहरूमा संलग्न रहेका जीवी राईसँग उनको सम्बन्ध र कारोबारबारे समितिका अधिकारीहरूले पुरुषसँग जानकारी लिएका थिए।

पुरुषसँग हर्बो लिएर जीवीले विभिन्न सहकारीको रकम आफ्ना कम्पनीहरूमा लगेर दुरुपयोग गरेका थिए। जीवीको हर्बोमा संलग्नता, सहकारीको रकम दुरुपयोग लगायतका विविध विषयमा पुष्पराजसँग सोधपुछ भएको समितिका एक सदस्यले उकेरालाई जानकारी दियो।

समितिले जीवीलाई नेपाल ल्याएर सोधपुछको प्रयास गरे पनि मलेसियामा रहेका भनिएका उनलाई नेपाल ल्याउन सरकार असफल भएपछि अब समितिले जीवीका कम्पनी साझेदार रवि लामिछाने अनि छविलाल जोशीसँग बयान लिएर प्रतिवेदन लेखनतिर प्रवेश गर्ने तयारी गरेको छ।

गोर्खा मिडिया प्रालिको शेयर सदस्यको हैसियतमा शुक्रवार समितिले ११ बजे जोशीलाई बयानका लागि बोलाएको छ भने लामिछानेलाई २ बजे बोलाइएको छ।

हाल बन्द अवस्थामा रहेको ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडिया प्रालिमा जीवीसँगै छविलाल जोशी र रविको समेत सेयर रहेको थियो। पछि दुवैले आफ्नो नामको सेयर बेचेर हिँडेका थिए। रविले आफ्नो गुड विल बापत निःशुल्क सेयर पाएको र छाड्दा पनि पैसा नलिई छाडेको दाबी गर्ने गरेका छन्। तर कम्पनी रजिस्टारको कार्यालयमा भने सेयर लिँदा पनि र छाड्दा पनि आर्थिक कारोबार भएको विवरण रहेका छन्।

यसैगरि पोखराको सुर्यदर्शन सहकारी र बुटवलको सुप्रिमबाट समेत रविको नाममा ऋण र रकम गएको विवरण उल्लेख भए पनि रविले भने आफूलाई त्यसबारे केही जानकारी नभएको दाबी गर्दै आएका थिए।

भदौ ५, २०८१ बिहीबार १८:०१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।