सभामुख घिमिरेले कांग्रेस सांसद नारायण खड्काको नाम बिगारे, खड्काले फेरि पढ्न लगाए

सभामुख घिमिरेले कांग्रेस सांसद नारायण खड्काको नाम बिगारे, खड्काले फेरि पढ्न लगाए

काठमाडौं : बिहीबारको प्रतिनिधि सभा बैठकमा पूर्वनिर्धारित प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय थियो। त्यसैअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न १३ जना सांसदले नामसहित प्रश्न टिपाएका थिए। बैठकको आकस्मिक समयमा सांसदहरूले समसामयिक कुराहरू उठाएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई अघि बढाए। 

त्यस कार्यक्रमका लागि प्रधानमन्त्री ओलीलाई रोष्ट्रम बोलाएपछि सभामुखले प्रश्न गर्न धुव्रबहादुर प्रधानलाई समय दिए। तर, उनको नाम दुई पटकसम्म सभामुखले बोलाउँदा बैठकमा नभएपछि नेपाली कांग्रेसका सांसद नारायण खड्कालाई पहिलो प्रश्न राख्ने मौका दिए। 

सभामुख घिमिरेले 'डा नारायणप्रसाद खड्का' वाचन गरेपछि सांसद खड्काले आफ्नो नाम फेरि पढ्न लगाए। 

सभामुख घिमिरेले भने, ‘माननीय सदस्य डा.नारायणप्रसाद खड्कालाई प्रश्न सोध्न अनुमति दिन्छु।’ त्यसपछि खड्काले सभामुखलाई भने, ‘सम्माननीय सभामुख महोदय नाम फेरि पढ्नुपर्यो। त्यहाँ प्रसाद लेखिएको छ र?’

अनि प्रतिनिधि सभा हाँसोमय बन्यो। सभामुख घिमिरेले पनि नाम दोहोर्याएर पढे। सभामुखले हाँस्दै भने, ‘नारायण खड्का’। 

त्यसपछि धन्यवाद दिँदै सांसद खड्काले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रश्न राखे।

सभामुख घिमिरेले यसअघि पनि कतिपय सांसदको नाम बोलाउने क्रममा अल्मलिएर प्रसाद, कुमार थपिदिने गरेका छन्।

यतिमात्रै नभएर कतिपय अवस्थामा एउटा सांसदलाई बोलाउँदा अर्को सांसदले उठेर बोलेका उदाहरण पनि रहेका छन् । 

भदौ ५, २०८१ बिहीबार १७:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।