स्वदेश फर्केपछि परराष्ट्रमन्त्री राणाले भनिन् 'भारतसँगको सम्बन्ध थप बलियो भयो'

स्वदेश फर्केपछि परराष्ट्रमन्त्री राणाले भनिन् 'भारतसँगको सम्बन्ध थप बलियो भयो'

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता भएकी छन्। भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा बिहीबार स्वदेश फर्किइन्। 

स्वदेश फिर्ता भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीच रहि आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान भएको बताइन्। 

उनले भारतका विदेशमन्त्री डा.एस जयशंकरबीचको द्विपक्षीय भेटघाटमा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको बताइन्।

यसका अलावा द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट दुवै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा सहमति भएको उनको भनाई छ। 

मन्त्री राणाले भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक, घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउने बताइन्।  

भदौ ५, २०८१ बिहीबार १७:१७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।