सरकार र विद्युत प्राधिकरणबीच मतभेद नभएको प्रधानमन्त्रीको दाबी, भने- 'उद्योगको लाइन नकाटी बक्यौता उठाइन्छ'

सरकार र विद्युत प्राधिकरणबीच मतभेद नभएको प्रधानमन्त्रीको दाबी, भने- 'उद्योगको लाइन नकाटी बक्यौता उठाइन्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्कलाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिने भन्दै लाइन बन्द नगरी बक्यौता उठाउने कुरामा सरकार स्पष्ट रहेको बताए। 

उनले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्न गरेर होइन चलाएर उठाइन्छ। विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ। यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ।’

उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको बताए। 

उनले भने, ‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ। बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ। औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुटो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु।’

प्रधानमन्त्री ओलीले सरकार र विद्युत प्राधिकरणबीच कुनै मतभेद नभएको दाबी गरे।  

भदौ ५, २०८१ बिहीबार १७:०७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।