पर्वतमा एकैवर्ष ७ वटा चितुवा मृत भेटिए

पर्वतमा एकैवर्ष ७ वटा चितुवा मृत भेटिए

काठमाडौं : पर्वत जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन्। 

डिभिजन वन कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ देखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिए। 

गत पुस १ मा जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ मा कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ मा मोदी गाउँपालिका–५ बाजुङमा दुईवटा चितुवा मृत फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो।
    
गत वैशाख १८ मा कुश्मा–९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा–२ खुर्कोटमा एउटा पोथी चितुवा मृतावस्थामा फेला परेका कार्यालयले जनाएको छ। 

वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त बासस्थान र आहारको व्यवस्था मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको सङ्ख्यामा वृद्धि हुँदै गएको सापकोटाले बताए। 

'गाउँघरमा रातिको समयमा पशुचौपायामाथि चितुवाले आक्रमण गर्ने क्रममा मृत्यु भएको हुनसक्छ। मृत भेटिएकामा बच्चा चितुवा पनि छन्, यसको कारण आहारको खोजी हुनसक्ने अनुमान छ, उनले भने। 

तर, मृतावस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको उनले बताए। 

चितुवाका बच्चासमेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय बासस्थानमा नफर्कँदा बच्चाहरू भोकले मरेको हुनसक्ने सापकोटाको भनाइ छ। 

उनले आहाराका लागि घाँसेमैदान आवश्यक पर्ने भन्दै उनले पहाडी वनमा त्यति धेरै घाँसे मैदान नहुने, हरिण, मृगलगायत जनावरको सङ्ख्या कमी हुँदै जाँदा खाद्य सङ्कट परेको हुनसक्ने बताए। 

पर्वतमा आव २०७९/८० मा नौवटा चितुवा मृतावस्थामा उद्धार गरिएको थियो। त्यसवर्ष दुई चितुवाको जिउँदै अवस्थामा उद्धार गरिएको थियो।  

भदौ ५, २०८१ बिहीबार १६:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।