नेप्से परिसूचक ६ विन्दुले बढे पनि कारोबार रकम १९ अर्ब मात्र
काठमाडौँ : साताको कारोबारको अन्तिम दिन सेयर नेप्से परिसूचक बढेर बजार बन्द भए पनि तीन हजार छुन सकेन। बिहीबार नेप्से परिसूचक जम्मा ६.१ ले बढेर २ हजार ९ सय ७४.४६ विन्दुमा बन्द भयो।
कारोबार रकमका आधारमा हेर्ने हो भने बजार निकै तल झरेको देखिन्छ। बिहीबार जम्मा १९ अर्बको कारोबार भयो। बुधवारको तुलनामा यो कारोबार रकम बढी हो। तर कारोबार रकमले ३० अर्बसम्म छोएको थियो। बिहीबार एक सय ३३ वटा कम्पनीको शेयर बजार बढेको छ भने एक सय ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ। वित्तिय अवस्था निकै कमजोर रहेको सिन्धु विकास बैंकको सेयर मुल्य समेत सकारात्मक सर्किट लेभमा कारोबार भयो।
बिहीबार तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
बिहीबार ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढ्यो। महालक्ष्मी विकास बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढ्यो। सिद्धार्थ बैंकको ऋणपत्रको कारोबार भने नकारात्मक सर्किट लेभलमा भयो।
बिहीबार नेप्से परिसूचक ६.०१ अंक बढ्दा सेन्सेटिभ इण्डेक्स ३.७५ अंक, फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक बढ्यो।
कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो। अरुण भ्याली हाइड्रोपावरको करिब साढे ४७ करोडको शेयर कारोबार भयो। हिमालयन रि इन्स्योरेन्सको करिब ४५ करोडको शेयर कारोबार भयो।
१३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढ्यो। ६ उपसमूहको परिसूचक घट्यो। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशत बढेको छ। वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घट्यो
भदौ ५, २०८१ बिहीबार १५:४५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।