सिमलताल दुर्घटनामा बेपत्ता भएकाहरू जीवित भेटिने आशा छैन : मन्त्री दाहाल

सिमलताल दुर्घटनामा बेपत्ता भएकाहरू जीवित भेटिने आशा छैन : मन्त्री दाहाल

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा बेपत्ता भएकाहरू जीवित नभएको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले असार २८ मा भएको दुर्घटनामा परेर बेपत्ता भएकाहरू जीवित भेटिने आशा मरेको भन्दै शवको खोजि कार्य भने जारी रहेको बताए। 

उनले भने, ‘मुग्लिनमा दुर्घटना भएर बेपत्ताहरू र मृत्यु भएकाहरूको अहिलेसम्म लास पत्ता लागेको छैन। यस्तो बेपत्ताको खोजी जारी छ। लगभग विश्वास छ कि उहाँहरू जीवित हुनुहुन्छ भन्ने छैन। लास नभेटिन्जेल आस हुन्छ भन्ने छ। जीवित भएको आस राख्ने कुरा भयो ।’

उनले मन्त्रालयमा फाइलहरू थन्क्याएर राखिएको भन्ने विषय सांसदहरूले उठाइरहेको भन्दै कुनै पनि फाइलहरू बिना कारण मन्त्रालयमा नरोकिने जानकारी गराए।  

असार २८ मा बिहान मुग्लिन-नारायणघाट सडकअन्तर्गत सिमलतालमा पहिरोसँगै आएको लेदोले बगाएर दुई वटा यात्रुवाहक बस त्रिशूलीमा पुर्याएको थियो। दुवै बसमा गरेर ६५ यात्रु थिए। ६५ मध्ये ३ जना यात्रु पौडिएर नदीबाट बाहिरिए बाँचेका थिए। ६३ जना खोलामा हराएकोमा २४ जनाको शव विभिन्न स्थानमा भेटिएको थियो।

अहिले पनि २९ जना यात्रु दुई वटा बससँगै हराइरहेका छन्।  

भदौ ५, २०८१ बिहीबार १५:३७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।