भैँसेपाटीको मन्त्री आवास क्षेत्रमा स्विमिङ पुलदेखि जिम हलसम्म, दशैँसम्ममा सबै मन्त्री सरिसक्ने

भैँसेपाटीको मन्त्री आवास क्षेत्रमा स्विमिङ पुलदेखि जिम हलसम्म, दशैँसम्ममा सबै मन्त्री सरिसक्ने

ललितपुर : सङ्घीय सरकारअन्तर्गतका मन्त्रीका लागि ललितपुर–१८ भैँसेपाटीमा निर्माण भइरहेको भवनमा दशैँसम्ममा मन्त्रीहरू सर्न सक्ने गरी तयारी अगाडि बढेको छ।

भवन निर्माणअन्तर्गत अहिले पहिलो चरणको काम सकिएको र दोस्रो चरणको केही काम बाँकी रहेको निर्माण कम्पनीले जानकारी दिएको छ। आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार दसैँसम्म सबै काम पूरा गर्ने लक्ष्य राखेर काम भइरहेको छ।

मन्त्रीहरुका लागि पुल्चोकमा सरकारी आवास गृह छन्। तर ती आवास गृहहरु पुरानो भएपछि सरकारले भैँसेपाटीमा नयाँ भवन बनाउने योजना बनाएको थियो। सरकारले भैँसेपाटीमा ९६ रोपनी १० आना जग्गामा मन्त्री आवास निर्माण गर्न एक अर्ब तीन करोड ४६ लाख छुट्टाइएको छ। मन्त्री आवास निर्माण गर्न २०७६ कात्तिक २७ मा हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएको थियो।    

पहिलो चरणअन्तर्गत भवन निर्माण काम सकिए पनि स्वीमिङपुल, पार्किङ, हेलिप्याडलगायत दोस्रो चरणको काम भइरहेकाले आगामी दसैँसम्म काम सकिने महर्जनले बताए।

उनका अनुसार प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित सङ्घीय मन्त्रीका लागि २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न भइसकेका छन्।

‘भवन निर्माण र भवनभित्रको काम सबै सकिएको छ, अब बाहिरको सजावट बाँकी छ’, महर्जनले भने, ‘हामीले यथाशीघ्र कामलाई पूर्णता दिने प्रयास गरिरहेका छौँ।’

आयोजनाका सहइञ्जिनीयर राजीव यादवका अनुसार मन्त्री आवास क्षेत्रभित्र जिम हल (व्यायाम शाला), स्विमिङ पुल, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने प्रबन्ध मिलाइएको छ। उनका अनुसार प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्टाइएको छ।

काम नसकिए पनि पाँच जना सरिसके

सो क्षेत्रका सबै भौतिक संरचना बनाउने काम नसकिए पनि राष्ट्रिय सभाको उपाध्यक्षसहित पाँच जना भने सरिसकेका छन्। अहिले नयाँ आवास क्षेत्रमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी बस्न थालिसके। र राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे पनि नयाँ आवासमा सरेकी छिन्।

सोही क्षेत्रमा प्रदेश प्रमुख र प्रदेश मुख्यमन्त्रीका लागि २४ रोपनी जग्गामा सातवटा भवन बनाइएको छ। त्यसको उद्घाटन समेत भइसकेको छ। प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौँ आउँदा बस्नका लागि ती आवास गृह बनाइएको हो।

भदौ ५, २०८१ बिहीबार १५:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।