शिक्षा क्षेत्रमा दल चाहिन्छ, शिक्षक प्राध्यापकले राजनीति गर्नुपर्छ भन्ने सेनापति प्रधानमन्त्री ओली हुन् : सुमना श्रेष्ठ

शिक्षा क्षेत्रमा दल चाहिन्छ, शिक्षक प्राध्यापकले राजनीति गर्नुपर्छ भन्ने सेनापति प्रधानमन्त्री ओली हुन् : सुमना श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले शिक्षालयमा दल चाहिन्छ भनेर सबै ठाउँमा बोल्दै हिँड्ने अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओली नै भएको बताएकी छन्। 

बिहिबार प्रतिनिधि सभाको बैठकमा उनले राजनीति चाहिन्छ शिक्षक, प्राध्यापक सबैले राजनीति गर्नुपर्छ भन्ने सेनापति प्रधानमन्त्री ओली भएको भन्दै यसमा प्रधानमन्त्रीको कार्य क्षमता नभएको बताइन्। 

‘शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, शिक्षक प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै हिँड्ने अहिलेका प्रधानमन्त्रीलाई जरोमा पनि उही टुप्पोमा पनि उही भएपछि उहाँको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ?‚’ उनले प्रश्न गरिन्। 

दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशाका कारण एउटा मन्त्रीले सामाजिक सञ्जालमा अर्को मन्त्रीसँग सुरक्षा माग्नुपर्ने अवस्था आइपरेको श्रेष्ठको भनाई छ। 

उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति को भन्दा प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को भन्दा प्रधानमन्त्री, दलीय राजनीतिले बनाएको दुईवटा ठूलो दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जर्जर बनाएर होइन, म दिशा दिन्छु भनेर हाँक्ने प्रधानमन्त्री नै हो।’

उनले बल भन्दा बुद्धि ठूलो भन्ने सानोमा पढाइ हुने भएपनि अहिले त दल ठुलो भन्ने भाष्य निर्माण भइसकेको उल्लेख गरिन्।

‘हामीलाई पहिला बलभन्दा बुद्धि ठूलो भनेर सिकाइएको थियो। तर, अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै मान्यज्यूहरुले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भन्दा बुद्धि भन्दा बल ठूलो हो र बलभन्दा दल ठूलो भनेर पढाइयो। विभागीय प्रमुखको पदको लागि, दलीय राजनीतिकरणले देखाएको र निम्त्याएको दुर्दशा हो’, उनले भनिन्।

उनले क्षमताको आधारमा नभई कुन पार्टीको झोला बोक्यो, उसलाई विभागीय प्रमुख बनाउ भन्ने र लाखौं विद्यार्थीहरूलाई बाहिर जाउ भन्ने खालको कामको रास्वपाले सधैँ विरोध गर्ने पनि बताइन्।  

भदौ ५, २०८१ बिहीबार १४:४९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।