अनाथ आश्रममा हुर्केका कलाकार शंकर आचार्यको हिजोको कुरा: बालाजु चौकीका पुलिसले हिन्दी बोलेर हैरान पार्थे

अनाथ आश्रममा हुर्केका कलाकार शंकर आचार्यको हिजोको कुरा: बालाजु चौकीका पुलिसले हिन्दी बोलेर हैरान पार्थे

फिल्म लेखक, निर्देशक तथा अभिनेता हुन् शंकर आचार्य। उनी हास्य टेलिश्रृंखलामार्फत दर्शकले त्यहिको पात्र ‘वरिष्ठे’का नामले पनि परिचित छन्। उनले दर्जनौँ टेलिफिल्म तथा फिल्ममा अभिनय गरेका छन् भने निर्देशन पनि।

वि.सं. २०१८ सालमा मुड्खु भन्ज्याङमा जन्मिएका उनी काभ्रेको पाँचखाल स्थित समाज कल्याण केन्द्र (अनाथालय)मा हुर्किए। घरको आर्थिक कमजोर भएपछि उनी भागेर त्यहाँ पुगेका थिए। उनले यहि केन्द्रबाट ४२ सालमा पहिलो श्रेणीमा एसएलसी पास गरे। त्यसपछि उनी काठमाडौं आएर राष्ट्रिय नाचघरमा नाटक गर्न थाले।

एसएलसी पासपछि उनको चाहना डाक्टर पढ्ने थियो। त्यसैका लागि उनले अमृत साइन्स क्याम्पसमा साइन्स पढ्ने निधो गरे। तर आर्थिक अवस्थाले नसकेपछि त्रिचन्द्र क्याम्पसमा भर्ना भए। डाक्टर पढ्ने सपना भने घरको आर्थिक अवस्थाका कारण पूरा हुन सकेन।

कलाकारितामा पाँच दशकभन्दा लामो समय बिताइसकेका उनले आफ्नो बाल्यकाल, नेपालमा नाटकको अवस्था र त्यस समयको राजनीतिक परिदृश्यलाई उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी स्मरण गरेका छन्ः

बाल्यकालको कठिन यात्रा, स्कुलमा सरको बदमासी
बालाजुबाट करिक चार किलोमिटर उत्तरमा रहेको तत्कालीन गोलढुङ्गा गाविसमा २०१८ सालमा मेरो जन्म भयो। पाँच जना छोराछोरीमा म कान्छो। मभन्दा माथि दुई दिदी र दुई दाइहरू छन्। ‘भद्रगोल’ टेलिश्रृंखलामा पाँडेको कटेज भए आसपास नै हो हामी हुर्केको।

घरको आर्थिक अवस्था कमजोर हुँदा मैले १४ वर्षको हुँदासमेत पढ्न पाइनँ। त्यहि झोँकले म काभ्रेको पाँचखालमा रहेको समाज कल्याण केन्द्रमा बसेर पढेँ। त्यो आश्रम हो। त्यहिँबाटै मैले ४२ सालमा एसएलसी फस्ट डिभिजनमा पास गरेँ।

राजालाई राष्ट्रगान सुनाउने मौका 
घरको आर्थिक अवस्थाका कारण हो वा अन्य कारण मलाई १४ वर्षसम्म स्कुल पठाइएन। यसलाई सौभाग्य भनौँ वा दुर्भाग्य। आमाबुवा हुँदा हुँदै म अनाथालय गएर बस्नुपर्यो। ३२ सालबाट मैले कक्षा १ बाट पढ्न सुरु गरेँ। त्यो आश्रममा ३४ सालमा तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्य आउनुभएको थियो। मैले राष्ट्रगान गाएर सुनाउँदा राजारानी मुस्कुराउनुभयो।

त्यहि सालमा मैले बाटुले चौरमा परिवार नियोजन सम्बन्धी जन चेतनामुलक नाटक मञ्चन गरेँ। त्यसमा धेरै बच्चा जन्माउँदा पोषण नपुगेर बालबालिकालाई कुपोषण लगायतका समस्या हुने विषय उठान गरेँ।

त्यसमा कुपोषण लागेर मर्न लागेको जेठो छोराको भूमिका थियो मेरो। यो नाटक हामीले समाज कल्याण केन्द्र पाँचखाल, पलाञ्चोक भगवती हुँदै विभिन्न स्थानमा देखायौँ। काठमाडौंबाट विभिन्न दातृ निकायहरू जाँदा पनि हामीले त्यो नाटक देखाउँथ्यौँ। त्यसले गर्दा पनि मलाई नाटकमा इच्छा जाग्यो।

हरेक शुक्रबार साँझ नाटक मञ्चन गरिन्थ्यो। त्यतिबेला अहिलेको जस्तो फिल्म, टेलिफिल्म जस्ता मनोरञ्जनका साधनहरू थिएनन्। जे थियो, नाटक नै थियो। अनि शुक्रबार नाटक मञ्चन गर्ने भनेपछि स्कुलका साथीहरूले घरमा बुवाआमा र छरछिमेकलाई भन्थेँ। साँझ परेपछि नाटक हेर्न सारा मान्छे राँको बालेर आउँथे। राम्रो क्रेज थियो।

नाटक गर्दा स्टेजमा रगतै छादेँ
मैले नाटक लेखक तथा निर्देशक गर्दा नाटकमा लेडिज पात्र चाहिन्थ्यो। खेल्ने कोही पनि हुँदैनथे। हाम्रो आश्रममा लेडिजहरू भए पनि खेल्नका लागि भने उनीहरुलाई अनुमति थिएन। केटालाई नै केटी बनाएर खेलाइन्थ्यो। त्यतिबेला मैले लेखेका र खेलेका नाटकहरूले खुब प्रशंसा पाएको थियो।

त्यतिबेला स्कुलको चौरमा नाटक गरिन्थ्यो, न स्टेज थियो न रङ्गमञ्च। काठमाडौंमा पनि स्टेज बनाउने चलन त्यति देखिनँ मैले। डबलीहरू भने थिए। राजधानी भएको हुनाले स्रोत साधनमा अलिक अगाडि थियो। गाउँमा त कहाँका स्टेज हुनु।

आश्रममा नाटक गरेको रसले मैले २०४४ सालमा राष्ट्रिय नाचघरमा ‘निर्मल गंगा’भन्ने नाटक मञ्चन गरे। यो मैले ३९ सालमा नै आश्रममा हुँदा लेखेको नाटक थियो। यो नाटक गर्दाको निकै ठूलो घटना पनि छ। त्यतिबेलाको नाटक गर्दा अहिलेका जस्तो डिजिटल हल थिएन।

नाटकमा बोल्दा निकै ठुलो चिच्याउनुपर्ने हुन्थ्यो। बिस्तारै बोल्दा हलका पछाडिका दर्शकले सुन्दैनथे। नसुनेपछि नाटक गरेको मजा हुँदैनथ्यो। त्यसरी बोल्दा बोल्दै स्टेजमा नै मैले रगतै छादेँ।

रगतै छादेपछि हस्पिटल भर्ना भएर पनि कन्टिन्यु नाटकमा समय दिए। किनभने त्यसको मुख्य अभिनेता नै मै थिएँ। छोड्ने कुरा पनि भएन। के भो के भो भन्दा भन्दै पछि चेकजाँच गर्दा त मलाई त क्षयरोग भएको रहेछ। त्यसपछि मैले एक वर्षसम्म क्षयरोगको औषधि खाए। ‘निर्मल गंगा’ नाटक जातियता सम्बन्धी थियो।

एक महिनासम्म चलेको नाटकको पारिश्रमिक मैले दुई सय रुपैयाँ पाएँ। त्यत्रो हल भरिभराउ दर्शक थिए। मेरो निर्माता अलिक बैमान परेछन्। मैले अनि विस्तारै ठूलो आवाजमा नाटकमा बोल्न छोडे।

सानो आवाजमा पनि नाटक गर्न सकिन्छ भन्नेतर्फ लागे। त्यस बेला नाटकमा अभिनय गर्दा समयमा पानी खान पाइँदैन थियो। खाना खाजाको कुरा परको भयो।

दुई रुपैयाँ चोर्न खोज्दा थाहा नपाएर २० रुपैयाँ चोरेछु
पाँचखाल जानुअघि माइला दाइ र म एकदमै मिल्थ्यौँ। दाजुभाइ भन्दा पनि साथी जस्ता थियौँ। एकदिन के भयो भने मेरो माइला दाइ स्कुल जानुभएको थियो। उहाँले मलाई बुवाले लुकाएर राखेको दुई रुपैयाँ चोर भन्नुभयो। त्यतिबेला म पैसा चिन्दैनथेँ। मैले १० रुपैयाँको दुई वटा नोट चोरेछु।

दाजु स्कुलबाट आएपछि एक घण्टा हिँडेर बालाजुमा आयौँ। चोरीको पैसाले जेरी, स्वारी लगायतका खानेकुरा किनेर खायौँ। पेट एकदमै ठूलो भइसकेको थियो। त्यति खाँदा पनि चोरेको पैसामा १५ रुपैयाँ अझै बाँकी थियो। पेट भरिए पनि मन भने भरिएन। यो २०२७/२८ सालतिरको कुरा हो।

त्यतिबेला थोरै पैसामा धेरै खानेकुरा आउँथ्यो। त्यतिबेला होटल साहुहरू होस् या पसलेहरू अलि इमान्दार नै थिए। ‘खाए पनि नखाए पनि पैसा तिरिहाल्छ’ भन्ने स्वभावका थिएनन्। त्यो समयमा हरेक मान्छेमा इमान्दारिता थियो भन्ने मलाई लाग्छ।

बालाजु चौकीमा पुलिसले हिन्दी मात्रै बोल
३४/३५ सालतिरको कुरा हो। त्यतिबेला दशैंको अष्टमीबाट गाडी खासै गुड्दैनथे। म पाँचखालमा पढ्न बसेको। त्यतिबेला म हिँडेरै भित्री बाटो हुँदै बनेपा निस्किए। गाडीहरू ठप्प भएकाले बाटो चकमन्न थियो। बनेपा आइपुगेपछि पुलिसलाई सहयोग मागेँ। निकै बेरपछि पुलिसले मलाई उसकै गाडीमा हालेर पुरानो बसपार्क एरियामा छोडिदियो।

त्यतिबेला झमम्मै साँझ परिसकेको थियो। मेरो दिदी सोह्रखुट्टेको ओरालोमा पसल गरेर बस्नुहुन्थ्यो। घर जानका लागि रात परिसकेको हुनाले यतै बस्छु भनेर पुगेको थिए। तर दिदीको पसल पनि बन्द थियो। एक रुपैयाँ बोकेर  पाँचखालबाट आएको, त्यतिको त्यति नै छ।

दिनभर केही खाएको थिइनँ। एउटा गाडीले मलाई बालाजुसम्म लगेर छाडिदियो। बालाजुभन्दा माथि सबै जंगल नै जंगल भएकाले मलाई घर जान डर लाग्यो। पच्चिस पैसाको चना खाँदै बालाजुको पुलिस चौकी अगाडि गएँ।

अब पुलिसलाई भनेर यतैबास बस्छु र बिहान नै घर जान्छु भन्ने सोचले चौकीमा पुगेर पुलिसलाई भने। म नेपाली कुरा गर्छु पुलिसले हिन्दीमा बोल्छ।

‘म इण्डियन होइन नेपाली नै हो। मेरो घर यहि मुड्खु भन्ज्याङ हो भन्छु,म पाँचखालमा बसेर पढ्छु, दशैंमा घर आउँदा रात पर्यो। यतै बास बस्न पाए हुन्थ्यो’ भनेर नेपालीमा भने पनि उनीहरुले मरिगए बुझेनन्। हिन्दीमै ‘नहीँ होगा’ भन्यो।

त्यतिबेला न मलाई हिन्दी बोल्न आउँथ्यो, न केहि बुझ्थेँ नै। पुलिस चौकी अगाडि पेटी थियो, त्यहीँ सुतेँ। अलि अगाडि बालाजु–रत्नपार्क चल्ने एउटा गाडी थियो। त्यसको सहचालकले आएर किन यहाँ सुतेको भन्यो।

मैले आफ्नो वास्तविकता बताए। उसले मलाई गाडीमा बस्न अफर गर्यो। म भित्र गएको मात्र के थिएँ, साहुले त हुँदैन भनेर फर्काइदियो। ओर्लिएर फेरि पेटीमै ढल्किएँ अनि मात्र पुलिसले आएर चौकीमा सुत्न दियो। भोलिपल्ट विहान त्यहाँबाट घर गएँ।

लुगा लगाउँदा शरीरका रौँ बाहिरै
मैले थाहा पाउँदा कपडा पाउन यत्तिको सहज थिएन। त्यतिबेलाको लुगा लगाउँदा शरीरका रौं सबै बाहिर निस्कन्थे। जाली वाला कपडा। यस्तै कपडाले दशैं, तिहार र स्कुल सबैका पुर्याइन्थ्यो।

समाज कल्याणमा बस्दा मैले जे लुगा लगाएर घर आएको थिए। त्यहि लुगामै म फर्किएको हुँ। मेरो दाजु दिदी आमा घरमा हुनुहुन्थ्यो। बुवा त बितिसक्नुभएको थियो। आमाले लुगा किन्दिने अवस्था पनि थिएन।

एउटै लुगाले वर्षौं कटाउनुपर्थ्यो। जाली वाला लुगा बाहिरबाट कोट जस्ताले ढाकेर मान्छेहरू हिड्थेँ। त्यो बेला मैले लामै समय यस्ता लुगा लगाएँ।

बन्धनमा बाँधिन्छु भनेर जागिर खाइन
समाज कल्याणमा हुँदा नाटक गरिरहेको मान्छे ४३ सालमा काठमाडौं आएपछि मैले पद्मोदय स्कुल नजिकै रहेको हिमालय कल्चर एसोसिएसन सेन्टरमा पुगे।

त्यतिबेला कलाकारिता भनेको नाटक थियो। मलाई पनि कलाकारितामा नै केहि गरौँ भन्ने चाहना थियो। ४० साल अगाडि दुई/चार वटा नेपाली फिल्म बनेका थिए। त्यसअघि कसैको पनि टेलिफिल्म, फिल्मप्रति रुचि थिएन। किनकी त्यो कल्पना बारिहको कुरा थियो।

नाटककै लागि भनेर हिमालय कल्चरमा एक वर्ष अभिनय सिके। त्यहाँ अहिलेको चर्चित निर्देशक ज्ञानेन्द्र देउजा, सुशिल पोखरेल लगायत थुप्रै हुनुहुन्थ्यो। हिमालय कल्चर छाडेर हरिहर शर्माकोमा जाँदा उहाँले नाटक सिकाउनुहुन्थ्यो भने सुनिल पोखरेलले योगा।

एकदिन सुनिल पोखरेलले ‘काम गरिसकेपछि राम्रो गर्नुपर्छ। हरिहर शर्मा मेरो गुरु हो। उहाँकै कारणले गर्दा मैले भारतको पुणेमा नाटक पढेर आएको हो। तपाईंको अभिनय राम्रो लाग्यो। हाम्रो संस्थामा आउनु। मिलेर काम गरौँ’ भनेर प्रस्ताव राख्नुभयो।

मैले त्यहाँ अभिनय सिक्नुअघि नै धेरै नाटक गरिसकेको हुनाले उहाँको कुरामा खासै चासो राखिन। त्यसमाथि मलाई उहाँहरुको बन्धनमा बाँधिएर बस्न मनै लागेन। त्यसको चार वर्षपछि अर्थात् ४७ सालमा मैले टेलिफिल्म ‘रुपमति’मा ‘बिरेपाच्छे पण्डित’को भूमिका पाएँ। त्यसयता निरन्तर लागिरहेकै छु। 

भदौ ५, २०८१ बिहीबार १४:१३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।