हुम्लाको जीप दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु
सुर्खेत : हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा मुगुको छायाँनाथरारा नगरपालिका-१३ निवासी २५ वर्षीय रमेश मल्ल रहेका छन्।
मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए।
बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ।
प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ।
भदौ ६, २०८१ बिहीबार १२:३१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।