इलामका एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

इलामका एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

फिक्कल : देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन्। आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन्।

देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गरेको हो।

देउमाईले आर्थिक वर्ष २०७९÷८० मा नगरक्षेत्रका दुई सय सातजना एकल पुरुषलाई रु २४ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो।

देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए।

त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई १० लाख ८९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ।

‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक रु एक हजारका दरले भत्ता प्रदान गरिएको हो। आर्थिक वर्ष २०७९/८० मा देउमाईका ८८ जनाले रु १० लाख ५६ हजार भत्ता पाएका थिए।

तेस्रो लिङ्गीका लागि मासिक रु पाँच सय भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताए।

‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई पाँच लाख ४५ हजार पाँच सय रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले रु पाँच लाख ४५ हजार पाँच सय भत्ता पाएका छन्।

यसैबीच, देउमाई नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ।

‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो।

भदौ ५, २०८१ बिहीबार ०८:२६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।