टिकटक खुलाउने प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा, बिहीबार निर्णय हुनसक्ने

टिकटक खुलाउने प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा, बिहीबार निर्णय हुनसक्ने

काठमाडौँ : सूचना तथा सञ्चार मन्त्रालयले नेपालमा टिकटक सञ्चालनमा लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णयको प्रस्ताव मन्त्रीपरिषद् सचिवालयमा पठाएको छ।

बिहीबार बस्ने मन्त्रीपरिषद्को बैठकमा पेस गर्नेगरि सो प्रस्ताव पठाइएको मन्त्रालयस्रोतले बतायो। प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया अगाडि बढाउन मन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिए अनुसार उनले निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद् कार्यालय पठाएका हुन्। मन्त्रिपरिषद्ले निर्णयपछि दूरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाउने छ।

सरकारको सर्त नमानेको र सामाजिक सद्भावमा असर परेको भन्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

२०८० कात्तिक २७ मा मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारले टिकटकमा राखिएका सामाग्रीबारे तत्काल रेस्पोन्स गर्ने संयन्त्र बनाउन नमानेको लगायतका कारण देखाउँदै सरकारले टिकटक ब्यान्ड गरेको थियो।

थोरै जनसङ्ख्या भए पनि प्रयोगकर्ताको सक्रियताको आधारमा नेपालमा राम्रो बजार रहेकाले टिकटकका प्रतिनिधीहरुले सरकारको सर्त स्वीकार गर्दै प्रतिबन्ध खुलाउन पहल गर्दै आए पनि प्रचण्ड नेतृत्वको सरकारले वास्ता गरेको थिएन।

टिकटकले अपराध अनुसन्धानमा सघाउन प्राधिकरणमार्फत सिधै सम्पर्क गर्न सकिने संयन्त्र निर्माण गर्ने, नेपालमा दर्ता हुने र शैक्षिक सामाग्रीसँगै सूचना प्रविधिको प्रयोग सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको थियो।

सरकार टिकटक खुलाउने अन्तिम चरणमा पुगेको पुष्टि भए पनि कुन कुन सर्तका आधारमा सो निर्णय हुन लागेको हो सो भने खुलेका छैनन्। 

भदौ ४, २०८१ बुधबार २२:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।