सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी खुला गर्ने तयारी भइरहेको छ : उपप्रधानमन्त्री सिंह

सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी खुला गर्ने तयारी भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन्। 

आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए। 

उनले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने बताए। 

'धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्नेछ। धरहराको सबै होइन, केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ', उपप्रधानमन्त्री सिंहले भने। 
    
उनले काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिरहेको जानकारी दिए। 

यसअघि सरकार अस्थिरहुँदा नयाँ सहर निर्माण प्रक्रियामा ढिलाइ भएको भन्दै उनले हाल संसद्कै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढ्ने दाबी गरे। 

भदौ ४, २०८१ बुधबार २१:५७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।