प्रधानमन्त्रीको आग्रह 'नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौं'

प्रधानमन्त्रीको आग्रह 'नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौं'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायत पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे। 
 
'साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योग खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ। नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ। डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ, उनले भने। 

मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वस्थ्य बनाउने खालका उत्पादनमा जोड दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले उद्योगका नाममा भएका बेथिति रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न निर्देशन दिए। 
     
उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठसहितको छलफलमा प्रधानमन्त्री ओलीले खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिँदै यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन आग्रह गरे।  

भदौ ४, २०८१ बुधबार २१:४५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।