इरानमा बलात्कारको आरोपमा भविष्यवक्तालाई मृत्युदण्ड

इरानमा बलात्कारको आरोपमा भविष्यवक्तालाई मृत्युदण्ड

एजेन्सी : मध्य इरानमा अधिकारीहरूले आफ्ना ग्राहकहरूसँग बलात्कार र यौन उत्पीडन गरेको आरोपमा एक भविष्यवक्तालाई मृत्युदण्ड दिएको न्यायपालिकाले बताएको छ। 

'महिला र युवतीहरूलाई आक्रमण गर्ने भविष्यवक्तालाई याज्द जेलमा मृत्युदण्ड दिइएको छ', इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटका अनुसार मध्य प्रान्तका मुख्य न्यायाधीश होसेन तहमासेबीले भनेका छन्, 'याज्दको क्रान्तिकारी अदालतले जारी गरेपछि र सर्वोच्च न्यायिक प्राधिकरणले पुष्टि गरेपछि यी बलात्कारी भविष्यवक्ताको सजाय लागु गरिएको थियो।'

तहमासेबीका अनुसार ती व्यक्तिले आफ्ना ग्राहकहरूलाई धोका दिन भविष्य बताउने सेवाहरूको प्रयोग गरेर ‘झुटो बहानामा महिला र युवतीहरूमाथि कुटपिट र बलात्कार गरेका थिए।’

दोषीलाई सन् २०२० मार्च र २०२१ मार्चको बीचमा पक्राउ गरिएको थियो। उनीविरुद्ध ‘उजुरीहरूको सङ्ख्या’का कारण माफीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरिएको थियो। 

इरानमा बलात्कार र यौन उत्पीडनलगायत धेरै अपराधमा मृत्युदण्डको प्रावधान छ। 

नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा प्रलोभनमा पारेर बेहोस हुने औषधिको इन्जेक्सन लगाई महिलाहरूलाई बलात्कार गरेको आरोपमा तीन जनालाई इरानले सन् २०२३ मा मृत्युदण्ड दिएको थियो। 

उनीहरूलाई सन् २०२१ को अन्त्यमा दक्षिणी प्रान्त होर्मोजगनमा यौन उत्पीडनको १२ घटनामा षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरिएको थियो। 

एमनेस्टीलगायत मानवाधिकार समूहहरूका अनुसार चीनबाहेक इरानले कुनै पनि अन्य मुलुकको तुलनामा हरेक वर्ष धेरै मानिसलाई मृत्युदण्ड दिने गरेको छ। 

इरानले सामान्यतया फाँसी दिएर मृत्युदण्ड दिने गरेको छ।  

भदौ ४, २०८१ बुधबार २१:०३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।