३० वर्षीय सेवा अवधिपछि अवकाशको प्रावधान हटाउन रिट बोकेर अदालत गए बहालवाला प्रहरी

३० वर्षीय सेवा अवधिपछि अवकाशको प्रावधान हटाउन रिट बोकेर अदालत गए बहालवाला प्रहरी

काठमाडौँ : प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै बहालवाला प्रहरी कर्मचारीहरू नै रिट बोकेर सर्वोच्च अदालत गएका छन्। वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरीले ३० वर्षीय सेवा अवधि हटाउन माग गर्दै संयुक्त रूपमा बुधवार रिट दायर गरेका हुन्।

गृह मन्त्रालयले प्रहरीमा कायम रहेको अवकाशको तीन प्रावधानमध्ये ३० वर्षीय सेवा अवधि हटाउने गृहकार्य अगाडि बढाइरहेको बेलामा प्रहरी अधिकारीहरू नै रिट बोकेर अदालत गएका हुन्। रिट बोकेर अदालत गएका प्रहरी कर्मचारीहरू प्रावधान कायम रहे भदौ १५ मा अनिवार्य अवकाशमा जानेछन्।

प्रहरी सङ्गठनमा उमेर अवधि, पदावधि अनि प्रहरी सङ्गठनमा प्रवेश गरेको ३० वर्ष पुगेपछि अनिवार्य अवकाश हुने प्रावधान छ। कृष्णबहादुर महरा गृहमन्त्री हुँदा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा एकै पटक ३० वर्षीय अवधि कायम भएको थियो। अनुसन्धान विभागमा यो प्रावधान हटेर पदावधि र उमेर अवधिका आधारमा अवकाश हुन्छ। तर दुई सुरक्षा सङ्गठनमा भने सेवा अवधि पनि कायम छ।

बुधवार दर्ता भएको रिटमा ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशको व्यवस्था खारेज गर्न र रिटको टुङ्गो नलाग्दासम्म यो प्रावधान कार्यान्वयन नगर्न आदेशको माग गरिएको छ।

भदौ ४, २०८१ बुधबार २०:४८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।