प्रकाशमानले माल्यार्पण गरेको गणेशमान सिंहको प्रतिमा भत्काइयो

प्रकाशमानले माल्यार्पण गरेको गणेशमान सिंहको प्रतिमा भत्काइयो

काठमाडौं : २०४६ सालको जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहलाई प्रजातन्त्र पुनःस्थापना पछि लौह पुरुष उपनामले सम्बोधन गरिन्थ्यो। पञ्चायती शासनविरुद्ध अथक संघर्ष र प्रधानमन्त्री पद अस्वीकार गरेको कारण नेपाली जनमानसमा चम्किलो छवि बनाएका उनै गणेशमान सिंहको प्रतिमाको सिरहामा हरिबिजोग भएको छ। 

पूर्वपश्चिम राजमार्ग ४ लेन विस्तार गर्ने क्रममा सोनापुर चोकस्थित गणेशमान उद्यान भत्काइएको छ। प्रतिमा फण्डिसनदेखि नै उखेलेर राखिएको छ। अब यो उद्यान कहाँ बनाउने, कसले बनाउने र गणेशमान सिंहको प्रतिमा कहाँ लगेर स्थापना गर्ने कसैलाई चासो छैन। 

सडकको किनारमा लौह पुरुषको प्रतिमा वेवारिसे अवस्थामा फालिएको दृश्य ज्यादै कुरुप देखिएको छ।

नेपाली कांग्रेसका स्थानीय नेता राम दयाल यादव भन्छन्, '२०४२ सालमा गणेशमान सिंह सोनापुर चोकमा आउनु भएको थियो। मेरै घरमा बसेर कार्यकर्ताहरूसँग भेटघाट गर्नुभयो। प्रजातन्त्र पुनःस्थापनापश्चात् सुशिलचन्द्र अधिकारी, गोपाल बहादुर राउत र म मिलेर चन्दा उठाएर यो उद्यान निर्माण गरेका थियौं।'

गणेशमान सिंहका सुपुत्र, नेपाली कांग्रेसका नेता तथा वर्तमान उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि त्यहाँ पुगेर प्रतिमामा माल्यार्पण गरेका छन्। 
  
२०५० सालमा चन्दा उठाएर हालको धनगढीमाई नगरपालिका वडा नम्बर ११ सोनापुर चोकमा राजमार्गसँगै 'लौह पुरुष गणेशमान सिंह'को अर्धकदको प्रतिमा स्थापना गरिएको थियो। सानो आकारको उद्यान पनि निर्माण गरिएको थियो। 

मधेश आन्दोलन २०६३ मा पनि यस प्रतिमामा क्षति पुर्याइएको थियो। 

राम दयाल भन्छन्, 'बडो मुस्किलले अनुनय विनय गरेर हामीले यो प्रतिमा जोगाएका थियौं। अहिले सडक बिस्तार गर्ने क्रममा भताभुङ्ग पारियो।'

भदौ ४, २०८१ बुधबार २०:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।