बागमती प्रदेशका पदाधिकारीसहितको बैठकमा प्रचण्डले भने 'हामी सरकारमा जाने हतार गर्दैनौं'

बागमती प्रदेशका पदाधिकारीसहितको बैठकमा प्रचण्डले भने 'हामी सरकारमा जाने हतार गर्दैनौं'

काठमाडौं : माओवादी केन्द्रको बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आजदेखि सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतका नेता सहभागी थिए।  

पार्टीको पदाधिकारी र स्थायी समितिले गरेका निर्णय सम्प्रेषण गर्ने र पार्टी सङ्गठन सुधारलगायत कार्यसूचीमा छलफल गर्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ। 

बैठकमा अध्यक्ष दाहालले पार्टी निर्माण एवं संगठन विस्तारमा शीर्ष नेतृत्वदेखि कार्यकर्ता तहसम्म नै परिचालित हुने बताए। उनले पार्टी निर्माणका क्रममा एकताबद्ध भएर अगाडि बढ्न निर्देशनसमेत दिए। 

उनको भनाइ उधृत गर्दै एक सहभागीले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौं, सरकार नै हामीसँग आउनुपर्छ भन्ने अध्यक्षको धारणा थियो।’

आफ्नो नेतृत्वको सरकार उच्च मनोबलका साथ बाहिरिएको र आम नेपाली जनतामा राम्रो छाप परेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन, समृद्धि र आर्थिक विकासको मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाइएका कारण सरकार हटाइएको जिकिर गरे।  

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक अगाडि माओवादीले तयारीस्वरूप हरेक प्रदेशमा परामर्श बैठक गर्ने निर्णय गरेको थियो। बैठक भोलिसम्म बस्नेछ। 

माओवादीको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीका अनुसार संगठन निर्माण, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल प्रारम्भ भएको छ।

माओवादीले आज र भोलि बागमती प्रदेश, भदौ ७ र ८ मा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठक कार्यतालिका तय गरेको छ। 

त्यस्तै, भदौ ९ र १० मा गण्डकी प्रदेश, भदौ १२ र १३ मा सुदूपश्चिम प्रदेश, भदौ १४ र १५ मा कर्णाली प्रदेश, भदौ १६ र १७ मा लुम्बिनी प्रदेश र भदौ १८ र १९ मा तीनवटै केन्द्रीय आयोगका पदाधिकारी र केन्द्रीय सदस्य तथा भदौ २२ र २३ मा मधेश प्रदेशका केन्द्रीय सदस्यको बैठक बस्ने  कार्यतालिका छ।  

भदौ ४, २०८१ बुधबार २०:२६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।