एमसिसी कार्यान्वयनको एक वर्ष, कस्तो रह्यो उपलब्धि?

एमसिसी कार्यान्वयनको एक वर्ष, कस्तो रह्यो उपलब्धि?

काठमाडौं : संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ।

एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा आयोजित पत्रकार सम्मेलनमा आयोजनाको प्रगतिबारे जानकारी गराएको छ।

कार्यक्रममा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ठेकेदार छनोट भएको र ठेकेदारको पहुँचका लागि साइट तयार गर्नमा उल्लेखनीय प्रगति भएको बताए। 

दुई सय ९७ किमी प्रसारण लाइनका लागि यस वर्ष पुनःबोलपत्र आह्वान गरिने उनको दाबी छ। तीन वटा सबस्टेशनका लागि ठेक्का सम्झौता सम्पन्न भएको जानकारी दिँदै उनले वैशाख २७ मा तीन करोड ५५ लाख १० हजार अमेरिकी डलर रकम बराबरको नयाँ बुटवल, नवलपरासीपश्चिम सम्झौता सम्पन्न भएको उल्लेख गरे। 

गत असार १ मा पाँच करोड १६ लाख अमेरिकी डलर बराबरको रातमाटे, नुवाकोट तथा गत साउन १६ गते तीन करोड ८८ लाख ९० हजार डलर बराबरको नयाँ दमौली, तनहुँ सम्झौता सम्पन्न भएको जनाइएको छ।
     
सडक मर्मतसम्भार आयोजनाका लागि सडक विभागलाई प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायत सहयोग प्रदान गरिएको एमसिसीले जनाएको छ। धानखोलादेखि लमहीसम्म फूल डेप्थ रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर लामो सडकखण्ड स्वीकृत भएको र यसैवर्ष बोलपत्र आह्वान गरिनेछ। 

आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ।
     
निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनाअन्तर्गत १० जिल्लामा आठ सय ५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गा प्राप्ति भएको र दुईवर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत दुई सय ७० जनालाई तालिम प्रदान गरिएको छ। 

जग्गाको मुआब्जा निर्धारण गर्न नौ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएको तथा धादिङ, मकवानपुर र नवलपरासीपश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको छ। नौ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सम्पन्न भएको छ।
     
कार्यक्रममा एमसिसीका देशीय निर्देशक डियान एल फ्रान्सिस्केले समयमै एससिसी परियोजना कार्यान्वयनमा आइसक्ने विश्वास व्यक्त गर्दै परियोजना अघि बढाउन नेपाल सरकारको तर्फबाट पनि सहजीकरण भइरहेको बताए। 

डीन नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले आयोजना कार्यान्वयनका लागि नेपाल सरकारबाट आवश्यक सहयोग र समन्वय भइरहेको बताउँदै अमेरिकी सरकारले यस आयोजनालाई महत्त्वका साथ अघि बढाएको जानकारी गराए। 

भदौ ४, २०८१ बुधबार १९:५९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।