बंगलादेशको विद्यार्थी आन्दोलनका क्रममा सरकारलाई सहयोग गरेको आरोपमा दुई पत्रकार पक्राउ

बंगलादेशको विद्यार्थी आन्दोलनका क्रममा सरकारलाई सहयोग गरेको आरोपमा दुई पत्रकार पक्राउ

एजेन्सी : केही समयअघि बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका बेला सरकारलाई सहयोग गरेको आरोपमा त्यहाँका दुईजना पत्रकार पक्राउ परेका छन्। 

आन्दोलनका क्रममा प्रहरी र सत्तारुढ दललाई समर्थन गरेको तथा विद्यार्थीमाथि ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा पत्रकार दम्पती शकिल अहमद र फरजाना रूपालाई विमानस्थलबाटै पक्राउ गरिएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन्।

विद्यार्थी आन्दोलनका संयोजक अब्दुल कादर र अब्दुल हन्नान मसुदले राष्ट्रिय प्रेस क्लबका कार्यवाहक अध्यक्षलाई एक पत्र पठाउँदै उनीहरूसहित ५० जना पत्रकारलाई प्रतिबन्ध लगाउन माग गरेका थिए।

त्यसपछि मानव संसाधन विभागको निर्णयअनुसार शकिल र फरजानालाई औपचारिक रूपमा बर्खास्त गरिएको एकातोर टिभीका निर्देशक शफिक अहमदले जानकारी दिए।

टर्किस एयरलाइन्सको उडानबाट पेरिस जान लागेका उनीहरूलाई विमानस्थलका अध्यागमन अधिकारीहरूको सहयोगमा पक्राउ गरिएको बताइएको छ। 

भदौ ४, २०८१ बुधबार १९:३७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।