भारतमा किन आन्दोलन गरिरहेका छन् दलित र जनजाति संगठन?

भारतमा किन आन्दोलन गरिरहेका छन् दलित र जनजाति संगठन?

एजेन्सी : भारतको सर्वोच्च अदालतले अनुसूचित जाति र जनजातिको आरक्षण सम्बन्धमा गरेको निर्णयको विरोधमा दलित र जनजाति संगठनहरूले बुधबार भारत बन्द गरे। 

बन्दको प्रभाव धेरै राज्यमा देखिएको छ। बिहार र झारखण्डमा धेरै सेवाहरू प्रभावित भए। झारखण्डमा बस सेवा नराम्ररी प्रभावित भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बस स्ट्यान्डबाट बाहिर निस्कन सकेका छैनन्।

बिहारको जहानाबादमा बन्दका समर्थकहरू सडकमा नारा लगाइरहेका देखिन्छन्। बिहारको आरामा बन्दका समर्थकहरूले रेल लाइनमा बसेर विरोध प्रदर्शन गरिरहेका छन्। राजस्थानका धेरै सहरहरूमा पसलहरू बन्द छन्। बन्दको प्रभाव धेरै राज्यमा प्रष्ट देखिएको छ।

दलित संगठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि भारत बन्दलाई समर्थन गरे। 

बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरूले पनि समर्थन गरेका हुन्।

बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरिन्।

मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरू पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताए।

बिहारको राष्ट्रिय जनता दलले यो बन्दलाई समर्थन गरेको छ भने केन्द्रीय मन्त्री जीतनराम मांझीले यसलाई ‘विपक्षीको भारत बन्द’ भनेका छन्। 

यसअघि सन् २०१८ अप्रिलमा दलित संगठनहरूले आह्वान गरेको भारत बन्दमा मध्य प्रदेशमा धेरै ठाउँमा हिंसा भड्किएको थियो। जहाँ मध्य प्रदेशका ६ जनाको मृत्यु भएको थियो।

भदौ ४, २०८१ बुधबार १९:१९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।