सुर्यदर्शनका पूर्व सचिवको पक्षमा समाचार प्रकाशित गरेको भन्दै सहकारी पीडितले समाधान दैनिक जलाए

सुर्यदर्शनका पूर्व सचिवको पक्षमा समाचार प्रकाशित गरेको भन्दै सहकारी पीडितले समाधान दैनिक जलाए

पोखरा : सुर्यदर्शन सहकारीका पूर्व सचिव अनुज नकर्मीको पक्षमा समाचार प्रकाशित गरेको भन्दै सहकारी पीडित दाबी गर्ने एक समूहले पोखराबाट प्रकाशित ‘समाधान दैनिक’ जलाएका छन्।

कास्की जिल्ला अदालत र वडा प्रहरी कार्यालय बैदामको ढोकामै उभिएको एक समूहले बुधवार पत्रिका जलाएका थिए। करिब १२-१५ जनाको समूहमा रहेका सहकारी पीडित दाबी गर्नेहरूले पत्रिका जलाएका हुन्।

बुधवार प्रकाशित पत्रिकाको पहिलो पृष्ठमा काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएका सो सहकारीका पूर्व सचिव नकर्मी सो संस्थाका संस्थापक अध्यक्ष जीवी राईका कारण फसेको आशयको समाचार प्रकाशित गरेको थियो।

बुधवारै नकर्मीबारे अदालतमा थुनछेकको बहस चल्दै थियो। अदालतमा बहस भइरहेको समयमा ‘सकारात्मक’ समाचार प्रकाशित भएको भन्दै उनीहरुले पत्रिका जलाएर विरोध गरेका थिए। अदालतले सचिव नकर्मीलाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो।

'जीबी राईको ‘कुकर्म’को सिकार भएका अनुज' शिर्षकमा प्रकाशित  समाचारमा अनुजको भनाई उल्लेख गर्दै ‘कुनै पनि बैठक र कुनै पनि निर्णयमा सहभागी नभएको, अरु बचतकर्ता जस्तै आफू पनि पीडित भएको, सानी छोराको दक्षिणा र गिफ्ट वापत पाएको ६ लाख रुपैया भन्दा बढी बचत त्यही सहकारीले हिनामिना गरिदिएको’ उल्लेख थियो।

भदौ ५, २०८१ बुधबार १९:०४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।