मकैको चटपटे बेचेर मासिक २५ हजारसम्म आम्दानी गर्छिन् दाङकी सारती

मकैको चटपटे बेचेर मासिक २५ हजारसम्म आम्दानी गर्छिन् दाङकी सारती

काठमाडौं : देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्न सकिन्छ भन्ने सबैलाई थाहा छैन। तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आएकी छन्। 

राप्ती गाउँपालिका-३ मसुरियाकी सारतीले मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त हुने गरेको बताउँछिन्। 

उनले सुरूमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर, पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँ काम थालेको सुनाइन्। 

'घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई/चार पैसा आवश्यक परेका बेला अरूसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ', उनले भनिन्। 

चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको छ उनलाई। मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ। अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनीमा बढ्दै गएको छ। 

२८ वर्षीय सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आएकी छन्। 

यो व्यवसायबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक २०–२५ हजार बढीको कारोबार गर्दै आएको उनले बताइन्। 

'मासिक १०/१२ हजार बचत हुने गरेको छ', उनले भनिन्। 

भदौ ४, २०८१ बुधबार १८:५७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।