आरजुको भारत भ्रमणबारे प्रचण्डको विश्लेषण ‘भारतले प्रधानमन्त्री तहको ट्रिट दियो, एमाले बिच्चियो’

आरजुको भारत भ्रमणबारे प्रचण्डको विश्लेषण ‘भारतले प्रधानमन्त्री तहको ट्रिट दियो, एमाले बिच्चियो’

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले प्रधानमन्त्री तहको सम्मान दिँदा सत्ता सहयात्री दल एमालेका नेताहरू बिच्किएको दाबी गरे।

पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दिएकाले एमाले बिच्किएको दाबी गरे।

प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो। यसले एमाले बिच्किएको छ।’

देउवा भारत भ्रमणकोक्रममा अहिले उपचारमा छिन्। सोमबार नयाँ दिल्ली पुगेकी उनको समकक्षीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता भएपछि अहिले उनको भ्रमण सफल भएको र नेपालको हकमा भारतको दृष्टिकोण बदलिएर प्राथमिकता दिएको कोणबाट बहस भइरहेको छ।

उनको भारत भ्रमणकोक्रममा नेपाल र भारतबीचको ऊर्जा विषयमा सहमति भए पनि अन्य उल्लेखनीय सहमति भएको सार्वजनिक भएको छैन। भ्रमणकोक्रममा दुबै देशको हितबारे छलफल भएको मात्र दाबी गरिएको छ। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा उनले प्रधानमन्त्री केपी ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा समेत दिएकी थिइन्।

दिल्ली भ्रमणमा के-के गरिन् आरजुले?

आफ्नो स्वास्थ्य परीक्षणसहितको कार्यसूची बनाएर आरजु पाँचदिने भ्रमणका लागि भारत गएकी हुन्। भारतीय परराष्ट्रमन्त्री एस जयशङ्करको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएकी आरजुले सोमवार जयशंकरसँग औपचारिक छलफल गरेकी थिइन्। त्यही दिन साँझ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट समेत गरिन्। यसैलाई नेपालमा उच्च महत्वका साथ हेरिएको छ। भारत भ्रमणमा जाने नेपालका मन्त्रीहरूले भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने मौका कमै पाउँछन्। यसले पनि मोदीसँग राणाको भेटबारे नेपालमा बहस सुरु गरेको देखिन्छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई पठाएको नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको उल्लेख छ। राणासँगको भेटपछि मोदीले 'भारत र नेपालबीच सभ्यतागत निकट सम्बन्ध र प्रगतिशील अनि बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारी निरन्तर अघि बढिरहेको हेर्न चाहन्छु' भनेर सामाजिक सञ्जाल एक्समा लेखेका थिए।

भारत भ्रमणकोक्रममा भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने घोषणा भयो। यसले अब नेपालले भारतमा एक हजार मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्छ। भारतीय विदेश मन्त्रालयले आरजुको भ्रमणबारे नेपाल र भारतबीचको उच्चस्तरीय आदानप्रदानको शृङ्खला भनेर प्रतिक्रिया दियो। 

भदौ ४, २०८१ बुधबार १८:४०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।