लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै तनहुँका उपभोक्ता, २ करोड बढी बक्यौता उठ्यो

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै तनहुँका उपभोक्ता, २ करोड बढी बक्यौता उठ्यो

काठमाडौं : बिजुलीको लाइन काटेपछि तनहुँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन्। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता संकलन गरेको छ।

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाए।

एक हजार चार सय ३६ ग्राहकबाट तीन करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ। 

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा एक करोड ८४ लाख ६५ हजार चार सय ५२ बक्यौता संकलन गरेको थियो। उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो। त्यतिबेला तीन करोड ६४ लाख ५७ हजार छ सय ८२ बक्यौता उठ्नुपर्ने थियो। 

केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ बराबरको विद्युत बिक्री गरेको छ। रेग्मीका अनुसार त्यस अवधिमा  ५४ करोड २० लाख ६० हजार दुई सय ७८ विद्युत रकम संकलन भएको थियो। 

केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो। 

भदौ ४, २०८१ बुधबार १८:४०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।